मानवअधिकार आयोगको हस्तक्षेपपछि हैदराबाद केन्द्रिय कारागारमा ‘लैङ्गिक तटस्थ कक्ष’ स्थापना
प्रतीकात्मक


नयाँ दिल्ली, 0५ नोभेम्बर (हि.स.)। राष्ट्रिय मानवअधिकार आयोग (एनएचआरसी) को हस्तक्षेपपछि हैदराबाद केन्द्रिय कारागार प्रशासनले विभिन्न लैङ्गिक पहिचान तथा अभिव्यक्ति भएका व्यक्ति (ट्रान्सजेन्डर तथा एलजीबीटीक्यू समुदाय) का लागि छुट्टै ‘लैङ्गिक तटस्थ कक्ष’ स्थापना गरेको छ। उनीहरूको मर्यादा तथा मानवअधिकारको संरक्षण सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।

आयोग अनुसार, उक्त विशेष कक्षमा राखिने व्यक्तिहरूलाई आफ्नो इच्छा र पहिचान अनुसार उपयुक्त पोसाक लगाउन समेत अनुमति दिइएको छ। आयोगका विशेष निरीक्षकले गत ८ अक्टोबरमा कारागारको भ्रमण गरेपछि यो कदम चालिएको हो। ट्रान्सजेन्डर तथा एलजीबीटीक्यू समुदायका अधिकार सम्बन्धी विषयको अनुगमन गर्ने जिम्मेवारी पाएका विशेष निरीक्षकले भ्रमणका क्रममा ट्रान्सजेन्डर व्यक्तिहरूको कल्याणका लागि राष्ट्रिय मानवअधिकार आयोग र गृह मन्त्रालयले जारी गरेका निर्देश तथा परामर्शहरू कड़ाइका साथ कार्यान्वयन गर्न जोड दिएका थिए।

हैदराबाद केन्द्रिय कारागारका अधीक्षकले आयोगलाई बुझाएको कार्यान्वयन प्रतिवेदनमा यसबारे जानकारी दिएका हुन्। उनले आयोगका सिफारिस कार्यान्वयन गर्दै छुट्टै कक्ष निर्माण गर्नुका साथै उनीहरूको पहिरन सम्बन्धी सकारात्मक परिवर्तनलाई पनि स्वीकृति दिइएको बताएका छन्।

आयोगले यस पहललाई सुधारगृह अर्थात् कारागारमा सबै प्रकारका लैङ्गिक पहिचान भएका व्यक्तिहरूको आधारभूत मानवअधिकार, आत्मसम्मान र सुरक्षालाई प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande