
गान्तोक, 05 नोभेम्बर (हि.स.)। टाशी नामग्याल अकादमी (टीएनए) ले आफ्नो शतवार्षिकी समारोहअन्तर्गत बिहीबार गान्तोकस्थित विद्यालय परिसरमा संस्थापक छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिमाको अनावरण गरेका हुन्।
यस अवसरमा प्रमुख संरक्षक आदित्य गोले, राज्यका मन्त्रीहरू, विधायकहरू, प्राचार्य एवं निर्देशक ब्रिगेडियर एमजी ज्याकब, टीएनए पूर्वविद्यार्थी सङ्घका प्रतिनिधिहरू, विद्यालयका अधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
टीएनए पूर्वविद्यार्थी सङ्घले टाशी नामग्याल अकादमीसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रम संस्थापकको नेतृत्व, योगदान र चिरस्थायी विरासतप्रति सम्मान अर्पण गर्ने उद्देश्यले सम्पन्न भएको हो।
कार्यक्रमको अर्को प्रमुख आकर्षण राजपरिवारको सङ्ग्रहमा रहेका छोग्याल टाशी नामग्यालका चित्रकलाहरूको पहिलोपटक आयोजना गरिएको विशेष प्रदर्शनी रह्यो। प्रदर्शनीले संस्थापकको ऐतिहासिक विरासतलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमलाई मुख्यमन्त्री प्रेमसिंह तामाङ र टीएनए बोर्डका अध्यक्ष तथा सिक्किम सरकारका मन्त्री राजु बस्नेतले सम्बोधन गरेका थिए।
टीएनए परिसरको सय वर्षको ऐतिहासिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको शतवार्षिकी समारोहको महत्त्वपूर्ण अङ्गका रूपमा प्रतिमा अनावरण कार्यक्रम सम्पन्न भएको हो। यसले संस्थाको शैक्षिक विरासत, संस्थागत विकास तथा यस विद्यालयसँग जोडिएका विभिन्न पुस्ताका विद्यार्थीहरूको योगदानलाई स्मरण गराएको छ।
प्रतिमा स्थापना र ऐतिहासिक चित्रकलाहरूको प्रदर्शनीले संस्थापकको दूरदर्शी सोच तथा योगदानप्रति सम्मान प्रकट गर्नुका साथै भावी पुस्ताका लागि संस्थाको ऐतिहासिक धरोहर संरक्षण गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल