
गान्तोक, 05 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले टाशी नामग्याल अकादमी (टीएनए) को ऐतिहासिक शतवार्षिकी समारोहमा सहभागी हुँदै संस्थापक महामहिम मिवाङ छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण समारोहको साक्षी बन्न पाएकोमा गौरव व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले बिहीबार सामाजिक सञ्जालमा टीएनएको सय वर्षको यात्रा ज्ञान, अनुशासन, चरित्र निर्माण, नेतृत्व र सेवाको गौरवशाली विरासत रहेको बताएका छन्।
उनले यस ऐतिहासिक संस्थानबाट शिक्षा हासिल गरेका विशिष्ट पूर्व विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सिक्किम तथा राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै संस्थाले प्रदान गरेका आदर्श र मूल्यहरूलाई निरन्तर अघि बढाइरहेको उल्लेख गरेका छन्।
विगतको गौरवलाई सम्मान गर्दै नयाँ पुस्तालाई भविष्यका लागि तयार पार्नु पनि उत्तिकै आवश्यक रहेको बताउँदै मुख्यमन्त्रीले शिक्षा, सीप विकास, नवप्रवर्तन तथा अवसरहरूको सिर्जनामा जोड दिएका छन्।
उनले सर टाशी नामग्यालको दूरदर्शी सोचले प्रत्येक टेनासियनलाई विनम्रतापूर्वक ज्ञान आर्जन गर्न, इमानदारीपूर्वक सेवा गर्न र उद्देश्यपूर्ण नेतृत्व गर्न निरन्तर प्रेरणा प्रदान गरिरहोस् भन्ने कामना पनि गरेका छन्।
यस अवसरमा मुख्यमन्त्रीले टीएनए परिवारका सम्पूर्ण सदस्यहरूलाई गौरवशाली सय वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिँदै आगामी शताब्दी अझ उत्कृष्टता, प्रगति र उल्लेखनीय उपलब्धिहरूले भरिपूर्ण बन्ने शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल