

गुवाहाटी, ०७ नोभेम्बर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्रमा एक महिलाको सड़ेको अवस्थामा शव फेला परेपछि इलाकामा खैलाबैला मच्चिएको छ। पुलिसले शनिवार दिएको जानकारी अनुसार, खानापाडा र आठ माइल गणेश मन्दिरबीच राष्ट्रिय राजमार्ग–२७ को छेउमा रहेको सुनसान क्षेत्रमा निकै दुर्गन्ध आएपछि केही मानिसहरू नजिक गएर हेर्दा मानिसको खुट्टा देखेका थिए।
त्यसपछि स्थानीय बासिन्दाहरूले घटनाबारे पुलिसलाई जानकारी गराएका थिए। घटनास्थलमा दिसपुर पुलिसको टोली पुग्यो। पुलिसले शव आफ्नो कब्जामा लिएको छ। शवलाई टुक्राटुक्रा पारेर बोरामा भरी फालिएको अवस्थामा भेटिएको थियो।
पुलिसलाई आशङ्का छ कि उक्त शव १२ दिनअघि गुवाहाटीको कोइनाधारा क्षेत्रबाट बेपत्ता भएकी महिला जीना वैश्यको हुनसक्छ।
घटनास्थलमा फरेन्सिक टोली पुगेर अनुसन्धान शुरु गरेको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मृतक महिलाको पहिचान गर्ने प्रयास गरिरहेको छ। शवलाई पोस्टमार्टमका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी