
गान्तोक, 07 नोभेम्बर (हि.स.)। केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह ८ नोभेम्बरमा दीपावलीको अवसर पारेर सिक्किम आउने जानकारी प्राप्त भएको छ। उनले भारत-चीन सीमावर्ती पूर्वी सिक्किमको नथुला क्षेत्रमा तैनाथ भारतीय सेनाका जवानहरूसँग दीपावली मनाउनुका साथै उनीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
सुत्रहरुबाट प्राप्त जानकारी अनुसार, रक्षामन्त्री सिंहले आफ्नो भ्रमणका क्रममा भारत-चीन सीमावर्ती क्षेत्रस्थित शेरेथाङ युद्ध स्मारक पुगेर राष्ट्रको सेवामा आफ्नो प्राण आहुति दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्। साथै, कठिन भौगोलिक तथा मौसमी परिस्थितिका बीच देशको सीमाको सुरक्षामा खटिएका सैनिकहरूसँग भेटघाट गरी उनीहरूको सेवा, समर्पण र बलिदानको सम्मान गर्नेछन्।
रक्षामन्त्री सिंहले आज, ७ नोभेम्बरमा दार्जिलिङको बागडोगरास्थित एयर फोर्स स्टेशनमा रक्षा बलका जवानहरूसँग अन्तरक्रिया गरेको पत्र सूचना कार्यालयले जानकारी गराएको छ।
उल्लेखनीय छ, रक्षामन्त्री राजनाथ सिंहले यसअघि पनि विभिन्न राष्ट्रिय तथा सांस्कृतिक पर्वहरू सीमावर्ती तथा उच्च हिमाली क्षेत्रमा तैनाथ सैनिकहरूसँग मनाउँदै आएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल