
गान्तोक, 07 नोभेम्बर (हि.स.)। साङ्ग्रीला हार्ट्स द कविता ट्राभलर्सले गान्तोकमा शुक्रबार भव्य कविता साँझ आयोजन गऱ्यो। केवल कविहरूको निम्ति मात्र आयोजित विशेष कार्यक्रममा सिक्किमका चर्चित कविहरूले कविता सुनाए।
कविता साँझमा मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार टीबी चन्द्र सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित थिए। कविता साँझका समन्वयक प्रवीण खालिङले कार्यक्रममा स्वागत गर्दै औचित्यमाथि प्रकाश पारे। उनले भने, कविहरू कविता यात्रामा हुने गर्दछन् जसलाई सिर्जनशील यात्रा भन्न सकिने भएको कारण कविताका यात्रामा रहेकी कविता यात्रीहरूको निम्ति साङ्ग्रीला हार्ट्स कविता कार्यक्रम विशेष रूपमा कविहरूकै निम्ति आयोजन गरिएको छ।
कार्यक्रममा कविहरूको मात्र उपस्थिति रहेको थियो भने दर्शकहरूलाई ननिम्त्याएर पठित कविताहरू डिजिटल माध्यमहरूबाट प्रसारण गरिने उनले बताए। यो कविता साँझको पहिलो श्रृङ्खला रहेको तथा आगामी दिनमा यसको अन्य श्रृङ्खलाहरू विभिन्न ठाउँ आयोजन गरिने बताए।
स्वतन्त्र आवाज मिडियाले कार्यक्रम प्रसारण गर्ने छ। एरोङ क्याफे किचनमा आयोजित कार्यक्रममा मुख्य अतिथिको सम्बोधन राख्दै साहित्यकार सुब्बाले पठित कविताहरूको सङ्गालो प्रकाशित गरिदिने घोषणा गरे।
उनले पठित कविताहरूको संक्षिप्त समिक्षा प्रस्तुत गर्दै कविहरूले समयलाई सम्बोधन गर्न सकेको बताए। उनले सहभागी कविहरू वैश्विक काव्यधारहरूमा समेटिएर कविता सिर्जना गर्न सकेको खुशी व्यक्त गरे। उनले आफूले साहित्य साधनाको समयमा प्राप्त गरेका अनुभवहरू पनि साझा गरे।
कार्यक्रममा कवि बलराम पाण्डे, भीम रावत, पीएम प्रधान, सरोजनी सुब्बा, सप्तिका राई, दीपा राई, मणिका शर्मा, प्रवीण खालिङ, दावा योञ्जन, पुजा छेत्री, एनबी घिमिरे, सन्ध्या सिजाङ्गो सुब्बा, निलम गुरुङ, सोनाम पाल्जोर, सुचन, सविना राई, विश्वजीत बास्कोटा,गोपाल ढकाल, जीवन छेत्री, प्रमिल थिङ, रञ्जना कार्की, आकाश प्रधान र टीबी चन्द्र सुब्बाले कविता वाचन गरेका थिए।
लोक कलाकार होम बहादुर गन्धर्व र बाँसुरीवादक रविन ढुङ्गेलले सारङ्गी र बाँसुरीमा साथ दिएका थिए भनि कवि दावा योञ्जनले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। उपस्थित कविहरूलाई मुख्य अतिथिको बाहुलीबाट सम्झाउनी प्रदान गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल