
सोरेङ, 07 नोभेम्बर (हि.स.)। जनजातीय गौरव दिवसको अवसर पारेर सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागअन्तर्गत सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद् र राष्ट्रिय नवाचार फाउन्डेसन-भारत (एनआईएफ-इन्डिया) को संयुक्त आयोजनामा सोरेङ जिल्लाको रिब्दी-भरेङ बहुउद्देश्यीय सहकारी संस्थामा आधुनिक खाद्य प्रशोधन प्रविधिसम्बन्धी व्यावहारिक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
ग्रामीण तथा जनजातीय क्षेत्रमा स्थानीय नवाचारको प्रवर्द्धन गर्ने उद्देश्यले एनआईएफ-इन्डियाको ‘सिक्किमका ग्रामीण तथा जनजातीय क्षेत्रमा स्थानीय नवाचारको प्रविधि सहजीकरण तथा प्रसार’ परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा असमका स्थानीय नवप्रवर्तक सुरेन बरुवाले विकास गरेको हाइब्रिड मिनी ट्रे ड्रायर प्रविधि प्रदर्शन गरिएको थियो। उनका छोरा पराश बरुवाले किसानहरूलाई उक्त उपकरण सञ्चालन गर्ने तरिका, खाद्य पदार्थ सुकाउने प्रक्रिया तथा यसको व्यावहारिक उपयोगबारे जानकारी गराए।कार्यक्रममा महिला तथा पुरुष गरी १७ जना जनजातीय किसानको सहभागिता रहेको थियो। उनीहरूलाई स्थानीय रूपमा उत्पादित फलफूल, तरकारी तथा मसलाजन्य वस्तु सुकाएर सुरक्षित राख्ने प्रविधिबारे व्यावहारिक जानकारी दिइयो।तालिमका क्रममा किवी फल, डल्ले खुर्सानी, ठूलो अलैँची तथा करेलाजस्ता स्थानीय कृषि उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिबारे विशेष छलफल गरिएको थियो। साथै खाद्य पदार्थको स्वच्छ व्यवस्थापन, उपयुक्त सुकाउने विधि, चिस्यान घटाउने प्रक्रिया तथा प्रशोधित उत्पादनको उचित भण्डारणबारे पनि जानकारी प्रदान गरियो।यस प्रविधिको सामुदायिक स्तरमा प्रयोगले कृषि उत्पादन खेर जानबाट जोगाउन, अतिरिक्त उत्पादनको सदुपयोग गर्न तथा ग्रामीण क्षेत्रमा साना उद्यम र आम्दानीका थप अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।यस पहलमार्फत एनआईएफ-इन्डियाले स्थानीय नवप्रवर्तक, वैज्ञानिक संस्था, सरकारी विभाग तथा ग्रामीण समुदायबीच सहकार्य विस्तार गर्दै प्रविधिमा आधारित जीविकोपार्जन, ग्रामीण उद्यमशीलता र समावेशी विकासलाई प्रोत्साहन गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल