
गान्तोक, 07 नोभेम्बर (हि.स.)। मतदाता नामावलीको विशेष सारांश पुनरावलोकन २०२६-२७ सम्बन्धमा जानकारी गराउन सोरेङ जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक आयोजना गरियो। बैठकको अध्यक्षता एडीसी तथा उपजिल्ला निर्वाचन अधिकारी डीआर बिष्टले गरेका थिए।
बैठकमा उपजिल्ला निर्वाचन अधिकारीले एसएसआर २०२६-२७ का उद्देश्य, दिशानिर्देश तथा कार्यतालिकाबारे जानकारी गराए। यस पुनरावलोकनका लागि १ जनवरी, २०२७ लाई योग्यता मिति तोकिएको छ। उनले आगामी निर्वाचनअघि मतदाता नामावलीलाई शुद्ध, समावेशी तथा अद्यावधिक बनाउन निर्वाचन संयन्त्र र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताए।
बैठकमा विशेषगरी एसएसआरको कार्यतालिकाबारे छलफल भयो। जसअनुसार २० नोभेम्बर, २०२६ भित्र मतदान केन्द्रहरूको युक्तिसङ्गतीकरण तथा पुनर्व्यवस्था, ३० नोभेम्बर, २०२६ मा एकीकृत प्रारम्भिक मतदाता नामावली प्रकाशन, १६ जनवरी, २०२७ भित्र दाबी तथा आपत्तिको निरूपण र २१ जनवरी, २०२७ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
विद्यमान मतदान केन्द्रहरूको स्थलगत प्रमाणीकरण, नयाँ मतदान केन्द्रका लागि उपयुक्त स्थान पहिचान तथा नामावलीमा नाम दर्ता नभएका योग्य मतदाताहरू, विशेषगरी युवा तथा पहिलोपटक मतदान गर्ने मतदाताको नाम समावेश गर्ने विषयमा पनि जोड दिइयो। साथै, १ अप्रिल, १ जुलाई र १ अक्टोबर, २०२७ मा मतदाता बन्ने योग्यता हासिल गर्ने सम्भावित मतदाताका लागि अग्रिम नाम दर्ताको व्यवस्थाबारे छलफल गरियो।
बैठकका अन्य प्रमुख विषयमा दाबी तथा आपत्ति दर्ता गर्ने प्रक्रिया र निर्धारित समयसीमा, राजनीतिक दलद्वारा मतदान केन्द्रस्तरीय अभिकर्ता (बीएलए) नियुक्ति तथा मतदान केन्द्रस्तरीय अधिकारी (बीएलओ) सँगको समन्वयमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषय समावेश थिए। साथै, मतदाता तथा जनसङ्ख्याको अनुपात, लैङ्गिक अनुपात, उमेर समूहअनुसारको असन्तुलन र नामावलीमा छुटेका योग्य मतदातासम्बन्धी कमीकमजोरी पहिचान गर्ने विषयमा पनि छलफल भयो।
उपजिल्ला निर्वाचन अधिकारीले निर्धारित प्रक्रियाअनुसार मृतक तथा अन्य कारणले अयोग्य भएका मतदाताको नाम प्रमाणीकरण गरी हटाउनुपर्ने महत्त्वमा जोड दिए। उनले एसएसआर कार्यक्रमबारे व्यापक प्रचारप्रसार गरी मतदाता सचेतना अभिवृद्धि तथा आवश्यक सहजीकरण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूलाई आफ्ना सुझाउ, प्रतिक्रिया तथा गुनासो प्रस्तुत गर्न आह्वान गर्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी र समावेशी मतदाता नामावली सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिइयो।
---------------
हिन्दुस्थान समाचार / बिशाल