
गान्तोक, 08 नोभेम्बर (हि.स.)। केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले दीपावलीको पावन अवसरमा आज सिक्किमस्थित शेरेथाङ युद्ध स्मारकमा पुगेर देशका वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
रक्षामन्त्री सिंहले आज सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणबारे जानकारी दिँदै स्मारकहरू मृतकका लागि नभई जीवितहरूका लागि निर्माण गरिने उल्लेख गरेका छन्। यस्ता स्मारकहरूले निरन्तर प्रेरणा प्रदान गर्नुका साथै राष्ट्रिय गौरवको भावना जागृत गराउने उनले बताएका छन्।
देशको सेवामा रहँदा वीर जवानहरूले दिएको सर्वोच्च बलिदान राष्ट्रको स्मृतिमा सधैँ अमिट रहने उल्लेख गर्दै उनले उनीहरूको साहस र वीरताप्रति राष्ट्र सधैँ ऋणी रहने बताएका छन्।
यस अवसरमा रक्षामन्त्रीले शेरेथाङको चुनौतीपूर्ण सीमावर्ती क्षेत्रमा तैनाथ भारतीय सेनाका जवानहरूसँग भेटघाट तथा अन्तरक्रियासमेत गरेका छन्।
उनले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बावजुद सीमाको सुरक्षामा खटिएका जवानहरूको उच्च मनोबल, देशभक्ति र सतर्कताको प्रशंसा गरेका छन्। जवानहरू आफैँ दीपजस्तै बनेर अन्धकारसँग लड्दै देशका प्रत्येक घरमा सुरक्षाको उज्यालो फैलाइरहेको उनको भनाइ छ।
मातृभूमिका सच्चा रक्षकहरूसँग दीपावली मनाउन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै रक्षामन्त्री सिंहले सीमामा तैनाथ सम्पूर्ण सुरक्षाकर्मी तथा उनीहरूका परिवारजनमा सुख, शान्ति र समृद्धिको कामनासहित दीपावलीको शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल