रक्षामन्त्री राजनाथ सिंहले शेरेथाङमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे
रक्षामन्त्री राजनाथ सिंहले शेरेथाङमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे


पाकिम, 08 नोभेम्बर (हि.स.)। केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले आइतबार आफ्नो क्षेत्रीय भ्रमणका क्रममा भारत-चीन सीमा क्षेत्रस्थित शेरेथाङको भ्रमण गरे। उनी सेनाको हेलिकप्टरमा स्थानीय हेलीप्याडमा अवतरण गरेका थिए।

यस अवसरमा उनलाई गान्तोक जिल्लाका जिल्लापाल रोहन अगवाने, वरिष्ठ पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्यात्सो, गृह विभागका संयुक्त सचिव जोन गुरुङ तथा भारतीय सेनाका वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

भ्रमणका क्रममा रक्षामन्त्री सिंहले शेरेथाङ युद्ध स्मारकमा पुष्पाञ्जली अर्पण गर्दै राष्ट्रको सेवामा आफ्नो सर्वोच्च बलिदान दिने वीर सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षार्थ सैनिकहरूले प्रदर्शन गरेको साहस र वीरताको सम्मान गरे।

उनले सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीसँग अन्तरक्रिया गर्दै कठिन परिस्थितिमा पनि राष्ट्रको सीमा सुरक्षामा उनीहरूले पुर्‍याउँदै आएको योगदान र समर्पणको सराहना गरे।

यसैक्रममा रक्षामन्त्रीले बाबा हरभजन सिंह मन्दिरको पनि दर्शन गरी श्रद्धाञ्जली अर्पण गरे। सैनिकहरूका लागि विशेष धार्मिक एवं भावनात्मक महत्त्व राख्ने उक्त मन्दिरको भ्रमणपछि उनी आफ्नो अर्को गन्तव्यतर्फ प्रस्थान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande