तुमिन बराङमा तेलहन बालीसम्बन्धी दुई दिने कृषक प्रशिक्षण कार्यक्रम सम्पन्न
कृषकहरूलाई प्रशिक्षण


गान्तोक, 08 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको कृषि विभाग, गान्तोक जिल्लाद्वारा राष्ट्रिय खाद्यतेल अभियान- तेलहन (एनएमईओ-ओएस) अन्तर्गत तुमिन बराङमा तेलहन बालीसम्बन्धी दुई दिने कृषक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ६ र ७ नोभेम्बरमा राक्दोङ तिनतेकस्थित अर्गानिक फार्मर्स प्रोड्युसर्स कोअपरेटिभ सोसाइटी लिमिटेडको सामुदायिक स्वास्थ्य केन्द्रमा आयोजित उक्त कार्यक्रमको उद्देश्य कृषकहरूलाई वैज्ञानिक खेती प्रणाली, उन्नत उत्पादन प्रविधि, बाली विविधीकरण तथा बाँझो कृषि जमिनको सदुपयोगबारे जानकारी गराउनु रहेको थियो।

प्राविधिक सत्रमा केभीके रानीपुलका वरिष्ठ शोधार्थी डा. पुन्नम छेत्रीले तेलहन खेतीका वैज्ञानिक विधि, उन्नत बीउका जात, पोषक तत्त्व व्यवस्थापन तथा ट्राइकोडर्मासहित जैविक रोग नियन्त्रण विधिबारे जानकारी गराए। कृषि विकास अधिकारी निम छिरिङ शेर्पाले राष्ट्रिय खाद्यतेल अभियान तथा विभागीय योजनाहरूबारे कृषकहरूलाई अवगत गराउँदै बाँझो तथा कम उपयोगमा रहेका जमिनमा तेलहन खेती विस्तार गर्न प्रोत्साहित गरे।

त्यसैगरी, कृषि सेवक करण लुइटेल शर्माले शून्य जोताइ प्रविधि तथा संरक्षणमुखी कृषिका फाइदाबारे जानकारी दिए। ओएफपीसीएसका प्रबन्धक काशी नाथ नेपालले सामूहिक उत्पादन, सङ्कलन तथा बजारीकरणमा कृषक उत्पादक संस्थाको भूमिकामाथि जोड दिँदै सिक्किम इफ्कोसँग समन्वय गरी बजारको व्यवस्था गर्न पहल गर्ने आश्वासन दिए।

कार्यक्रमअन्तर्गत ४० जना कृषक उत्पादक संस्था (एफपीओ) का शेयरधनी कृषकहरूलाई उन्नत जातको ‘पन्त गिरिराज’ तोरीको बीउ वितरण गरिएको थियो।प्रशिक्षणपछि तुमिन शेलायस्थित लीला धर दाहालको कृषि जमिनमा धान काटेपछि बाँझो रहेको खेतमा शून्य जोताइ प्रविधिबाट तोरी खेती गर्ने व्यावहारिक प्रदर्शन पनि गरियो। एटीएमएकी पवित्र सुब्बा, कृषि विकास अधिकारी निम छिरिङ शेर्पा तथा कृषि सेवक करण लुइटेल शर्माको सहजीकरणमा सम्पन्न प्रदर्शनमा कृषकहरूलाई माटोको चिस्यान संरक्षण, खेती खर्च न्यूनीकरण तथा बाँझो जमिनको उत्पादनशील उपयोगबारे व्यावहारिक जानकारी प्रदान गरियो।कार्यक्रममा ४० जना कृषक, कृषि विभागका अधिकारी तथा कर्मचारी, कृषक उत्पादक संस्थाका प्रतिनिधि र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande