
खरसाङ, 14 फरवरी (हि.स.)। 'अहिले परिवेश शान्त छ, काम गर्ने तरिका शान्तिपूर्ण छ। कसैसंग डराउनु पर्दैन। विकास समय अनुसार हुँदै जान्छ। बनिनु पर्ने सबैलाई थाहा हुन्छ, तर बनिसकेको लसैलाई थाहा हुँदैन। तर, यसपाली खरसाङको समस्या विधानसभामा राख्न र खरसाङको लागि भए पनि यसपालीको चुनाउमा जिताउनु पर्छ।' उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाले भनेका हुन्। उनी आज 28 नम्बर समष्टिलाई लिएर आयोजित कर्मी सभालाई सम्बोधन गर्दै थिए।
जीटीए प्रमुखले भने, विगतमा खरसाङबाट जितेर गएका विधायकले फर्केर आएर धन्यवाद समेत भनेनन् र कसैले खोजेनन् पनि। यसपाली हामीलाई भोट दिनुहोस्, किनभने हामी सरकारसित मिलेर काम गरिरहेछौं। चुनाउ हारेको खण्डमा बोल्ने मुख बन्द हुन्छ र विकास गर्न गाह्रो हुन्छ। खरसाङ महकुमा बंगालभित्र नै पर्छ। त्यसैले हामी बंगाल सरकारसित मिलेका हौं। बंगालभित्र पर्ने ठाउँको लागि बिहार असमसित मिलेर हुँदैन।'
उनले यसपालीको चुनाउमा पहाडका तीनवटा विधायकहरुले सरकार बनाउन र सरकार ढाल्न होइन, तर तीनजना विधयाकहरु भए सरकारसित मिलेर काम गर्न सजिलो हुन्छ भनी बताए। उनले भने, वर्षभरि काम गरिरहेका छौं र अब चुनाउको बेला समष्टि स्तरीय, ब्लक स्तरीय र बुथ स्तरीय नेताहरुले गाउँका जनतालाई बुझाउनु सक्नुपर्छ र सचेत भएर भोट लगाउनु पर्छ। तर, म चुनाउमा मात्र देखा पर्ने नेता होइन। म सबैको लागि वर्षभरि काम गर्ने नेता हो।'
अनित थापाले आफ्नो सम्बोधनमा भने, खरसाङमा 2 सय करोड़ रुपियाँ बराबरको पानीको काम भइरहेको छ र यसको लागि प्रत्येक वार्डमा निर्माण समिति गठन गरिनुपर्छ। यसको लागि प्रत्येक वार्डका जनसाधारण र समाज जागरुक हुनुपर्छ। खरसाङ शहरलाई सफा बनाउन प्रत्येक हप्ता केवल दुई घण्टा सबैले दियो भने शहर स्वच्छ हुन्छ। सरकारले मात्रै गरेर हुँदैन जनता पनि सचेत हुनुपर्छ।'
उनले अघि भने, विधायक चुनाउ जित्यो भने म ठूलो हुँदिन। म यही नै ठीक छु। 2017 मा आगोको भुप्रोमा हात हालेर आएको हो र पहाड़ले गाली मात्र गरेको छ। तर पाँच वर्षपछि 2022 मलाई नै जनताले जिताएर कुर्सीमा राखेको हो।'
उनले यसपाली खरसाङको सर्वाङ्गीण विकासको लागि भोट दिनुहोस्, अनित थापाको लागि होइन भनी आह्वान गरे। अनित थापाले अझ भने, म पोजिशन र पावरले परिवर्तन हुने होइन। त्यसैले यसपालीको भोट मन दुखाएर यता उता होइन, तर खरसाङको सर्वाङ्गीण विकासको लागि दिनुहोस्। भोटिङमा सचेत हुनुहोस् ।
---------------
हिन्दुस्थान समाचार / हनोक