भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 नम्बर समष्टिलाई लिएर कर्मी सभा सम्पन्न
bgpm meeting


खरसाङ, 14 फरवरी (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिलाई लिएर‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) को कर्मी सभा आज खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भयो। कर्मी सभाको अध्यक्षता बीजीपीएमका संस्थापक अध्यक्ष तथा जीटीए प्रमुख अनित थापाले गरेका थिए।

सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर 3 बाट 15 जनाले बीजीपीएमलाई मोर्चामा समर्थन जनाए। समर्थन जनाउने सबैलाई सभासद श्याम शेर्पा र केन्द्रिय महासचिव अमर लामाको बाहुलीबाट खदार्पण र पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइयो।

कर्मी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले यो सभा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिलाई लिएर आयोजना गरिएको जानकारी गराए। उनले 28 नम्बर समष्टि खरसाङ नगरपालिकाको एक नम्बर देखि दश नम्बर वार्डहरु लगायत चिमनी देवराली क्षेत्रलाई लिएर गठन भएको जानकारी गराए। उनले 28 नम्बर समष्टिमा बीजीपीएमको पकड एकदमै राम्रो रहेको ठोकुवा गर्दै चुनाउ पनि जित्ने आशा व्यक्त गरे।

यस कर्मी सभामा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्री, नारी शक्ति खरसाङ महकुमा समितिका सभापति सबिता कार्की, सचिव जैतुन निशा खातुन लगायत खरसाङ टाउन कमिटी र 28 नम्बर समष्टिका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande