
खरसाङ, 14 फरवरी (हि.स.)। ख्रीष्टमा मिलाप मिनिस्ट्रीको चौथो स्थापना दिवस तथा जागृति सेवा आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। 2021 को दिसम्बरदेखि आमा झुण्डद्वारा शुरु गरिएको ख्रीष्टमा मिलाप मिनिस्ट्रीको चौथो स्थापना दिवस तथा जागृति सेवामा मुख्य वक्ताको रूपमा सिक्किमबाट पास्टरनी आमा लक्की दानियल छेत्री उपस्थित थिइन्।
एल्डरनी आमा सुजु सिंहले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पास्टरनी आमा एलिसिभा सुनामले राखेकी थिइन्। कार्यक्रमकी प्रमुख वक्ता पास्टरनी आमा लक्की दानियल छेत्रीले बाइबलबाट सन्देश प्रचार गर्दै मत्तीको 8 अध्यायको 5 देखि 10 पदसम्म र यर्मिया 1 को 9 पदबाट सन्देश बाँडेकी थिइन्। उनले वचन एउटा बीऊ हो र बीऊले काम गर्ने बताइन्।
उनले आमाहरुलाई उत्साह दिॅंदै आमाहरुलाई सेवाकाईमा अघि बढ्ने आह्वान् गरिन्। उनले ख्रीष्टमा मिलाप मिनिस्ट्रीको राम्रो भएर जाने विश्वास दिलाइन्। कार्यक्रममा ख्रीष्टमा मिलाप मिनिस्ट्रीको तर्फबाट प्रमुख वक्ता पास्टरनी आमा लक्की दानियल छेत्री, पास्टर प्रमोद राई लगायत ख्रीष्टमा मिलाप मिनिस्ट्रीका आमाहरुलाई पनि सम्मान जनाइएको थियो।
कार्यक्रममा सिक्किम, सिलगढी, दार्जिलिङ, सोनादा, टुङ, खरसाङ, मार्गरेट्स होप, तीनधारे, घैयाबारी, महानदी लगायत विभिन्न स्थानहरुबाट विश्वासीजन उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक