
गेजिङ, 14 फरवरी (हि.स.)। पिपल टु पिपल हेल्थ फाउण्डेशनले एचआरडीपी-एचडीएफसी ब्याङ्क परिवर्तनको सहकार्यअन्तर्गत तथा एसएसबीको ७२औँ बटालियनको समन्वयमा १३ फरवरीका दिन गेजिङ जिल्लाको खेचीपेरी उच्चतर माध्यमिक विद्यालयमा बाढी नियन्त्रण, भूकम्प तथा पैह्रो प्रबन्धन सम्बन्धी टरेन्ट प्रशिक्षण पहल सम्पन्न गरेको छ। कार्यक्रमका पञ्चायत सभापति सोनाम वाङ्दी भोटिया मुख्य अतिथि थिए।
कार्यक्रम आयोजन गर्नुको उद्देश्य विद्यार्थी तथा समुदायका सदस्यहरूमा आपदा प्रतिकार्य तथा जीवनरक्षक उपायबारे सचेतना र तयारी अभिवृद्धि गर्नु रहेको थियो। प्रशिक्षण सत्रहरूमा पैह्रो, भूकम्प, बाढी तथा भीरमा खस्दा अपनाउनुपर्ने उद्धार प्रक्रिया समावेश गरिएको थियो। साथै व्यक्तिगत सुरक्षा, उद्धार प्रविधि, आधारभूत प्राथमिक उपचार, सीपीआर तथा घाइतेलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने विधिबारे व्यवहारिक प्रदर्शन पनि गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथिले विशेषगरी पैह्रो, बाढी र भूकम्पजस्ता प्राकृतिक आपदाको जोखिमयुक्त क्षेत्रमा आपदा तयारी र सामुदायिक सचेतनाको महत्त्वबारे प्रकाश पारे। उनले यस्ता प्रशिक्षण कार्यक्रमहरूले विद्यार्थी तथा स्थानीय बासिन्दालाई आपत्कालीन अवस्थामा प्रभावकारी रूपमा सामना गर्न आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गर्ने उल्लेख गरे।
उनले समयमै तयारी, समन्वित सामुदायिक प्रयास तथा जीवनरक्षक प्रविधिको ज्ञानले आपदाको समयमा जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सक्ने बताए। नियमित मोक ड्रिल र क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यकता औंल्याउँदै विशेष गरी मनसुन र उच्च जोखिम अवधिमा सबैलाई सतर्क, सक्रिय र सक्षम रहन उनले आग्रह गरे।
पीपीएचएफको तर्फबाट सहायक कार्यक्रम प्रबन्धक समर दास र अंकित कुमार उपस्थित रही कार्यक्रम सञ्चालन तथा समन्वय गरेका थिए। साथै ७२औँ बटालियन एसएसबीका निरीक्षक सुरेश चन्द र उनको आपदा प्रबन्धन टोलीले व्यवहारिक प्रदर्शन र मार्गदर्शनमार्फत प्रशिक्षणलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। कार्यक्रम विद्यार्थी तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता र अन्तरक्रियात्मक प्रदर्शनसँगै सम्पन्न भयो।
हिन्दुस्थान समाचार / बिशाल