
कारैक्कल, 14 फरवरी (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले शनिबार पुडुचेरीको कारैक्कलमा आयोजित भारतीय जनता पार्टी (भाजपा) को जनसभालाई सम्बोधन गर्दै सन् २०२६ को आगामी विधानसभा चुनाउमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) ले ६० प्रतिशत मत प्राप्त गरी पुडुचेरीका सबै २४ सिट जित्ने दाबी गरेका छन्। उनले पुडुचेरीका जनतालाई राजगलाई निरन्तर समर्थन गर्न अपील गरे।
जनसभाको शुरुआतमा उनले तिरुनल्लारका शनिश्वर भगवान र भद्रकाली अम्मनलाई नमन गरे। विश्वकै प्राचीन तमिल भाषामा सम्बोधन गर्न नसकेकोमा क्षमा माग्दै उनले आफ्नो भ्रमणका दुई प्रमुख उद्देश्य रहेको बताए। पहिलो, प्रधानमन्त्री नरेन्द्र मोदी तथा पुडुचेरीका मुख्यमन्त्री एन. रंगासामीको नेतृत्वमा रहेको सरकारका उपलब्धिहरू जनतासामु प्रस्तुत गर्नु र दोस्रो, अघिल्ला शासकहरूको कार्यशैली सार्वजनिक गर्नु रहेको उनले बताए।
उनका अनुसार विगत पाँच वर्षमा पुडुचेरीमा कानुन-व्यवस्थामा सुधार भएको छ र विकासको नयाँ यात्रा शुरु गरिएको छ। सन् २०२१ को चुनाउमा राजगले ४४ प्रतिशत मत प्राप्त गरेको उल्लेख गर्दै उनले सन् २०२६ मा यो प्रतिशत ६० सम्म पुग्ने र गठबन्धनले सबै २४ सिट जित्ने विश्वास व्यक्त गरे।
कांग्रेस शासनकालमाथि प्रहार गर्दै शाहले केन्द्रमा कांग्रेस सरकार हुँदा पाकिस्तानबाट आतङ्कवादी हमला भइरहँदा त्यसलाई सामान्य रूपमा लिइएको आरोप लगाए। उनले सन् २०१९ को पुलवामा हमलाको उल्लेख गर्दै शहीद ४० सीआरपीएफ जवानप्रति श्रद्धाञ्जलि अर्पण गरे र मोदी सरकारको कार्यकालमा पहिलोपटक पाकिस्तानमाथि हवाई कारबाही गरिएको बताए।
पुडुचेरी सन्दर्भमा उनले वर्तमान सरकारले राजनीतिक स्थिरता कायम गर्नुका साथै भ्रष्टाचार नियन्त्रणमा ल्याएको दाबी गरे। पूर्व मुख्यमन्त्री वी. नारायणसामीको कार्यकालमा कुनै नयाँ उद्योग स्थापना नभएको आरोप लगाउँदै उनले हालको सरकारले वस्त्र उद्योग पुनर्जीवित गर्न प्रयास गरिरहेको बताए।
जनसभाको अन्त्यमा शाहले पुनः पुडुचेरीका जनतालाई राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई निरन्तर समर्थन गरी विकास यात्रालाई अघि बढाउन आग्रह गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी