पाकिम जिल्ला प्रशासनद्वारा अन्तरपुस्ता दिवस कार्यक्रम आयाेजित
पाकिम जिल्ला प्रशासनद्वारा अन्तरपुस्ता दिवस कार्यक्रम आयाेजित


पाकिम, 14 फरवरी (हि.स.)। पाकिम जिल्ला प्रशासन केन्द्र (डीएसी) ले आज अटल वयो अभ्युदय योजनाको जिल्ला स्तरीय एकीकृत वरिष्ठ नागरिक कल्याण कार्यक्रमअन्तर्गत वृद्ध र युवाहरूबीचको सम्बन्धलाई सम्मान गर्दै अन्तरपुस्ता दिवस कार्यक्रम 'प्रथा- सेलिब्रेटिङ जेनेरेसन' आयोजन गर्‍यो। राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभाग, पाकिम जिल्लाद्वारा सेन्ट जेभियर्स स्कूल मैदानमा आयोजित यस कार्यक्रममा विधायक पामिन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिइन्।

जिल्लापाल रोहन अगवानेले कार्यक्रममा “प्रथा-सेलिब्रेटिङ जेनेरेशन्स” को अवधारणाबारे जानकारी दिँदै यस उत्सवले ज्येष्ठ नागरिक र युवापुस्ताबीचको प्रेम, सम्बन्ध र परम्पराको निरन्तरतालाई मनाउने उद्देश्य राखेको बताए। उनले परम्पराहरू पुस्तौँपुस्ता हस्तान्तरण हुने विचारबाट कार्यक्रमको नाम राखिएको जानकारी दिँदै विद्यार्थीहरू यस उत्सवका मुख्य आधार रहेको उल्लेख गरे।

कार्यक्रममा सिक्किम राज्य विधिक सेवा प्राधिकरणका वरिष्ठ अधिवक्ता नरेन्द्र राईले ज्येष्ठ नागरिकहरूको कानुनी अधिकारसम्बन्धी जानकारीमूलक सत्र सञ्चालन गरे। उनले उपेक्षा, विभेद वा उचित हेरचाह नपाउँदा उपलब्ध कानुनी उपचार, भरणपोषण अधिकरण तथा अन्य प्रावधानबारे विस्तृत जानकारी दिए।

दिनभरि सञ्चालन भएको यस कार्यक्रममा प्रतिस्पर्धात्मक तथा गैर-प्रतिस्पर्धात्मक विविध गतिविधिहरू समावेश थिए। विद्यार्थी केन्द्रित कार्यक्रमसँगै चित्रकला, मङ्गा आर्ट, पुस्तक प्रदर्शनी तथा अन्तरक्रियात्मक खेलकुदजस्ता गतिविधिहरू पनि आयोजना गरिएका थिए। सहभागीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर पनि आयाेजन गरिएको थियो।

विद्यार्थीहरूका लागि व्यक्तित्व विकास तथा सफ्ट स्किल तालिम आँचल अगवानेद्वारा सञ्चालन गरियो भने कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिसम्बन्धी सत्र दिनेश ढुङ्गेलद्वारा सञ्चालन गरिएको थियो। साथै, नवीन डवाडीले मौखिक परम्पराबारे कथावाचन सत्र सञ्चालन गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande