
खरसाङ, 14 फरवरी (हि.स.)। खरसाङको गिद्ध पहाडदेखि रोहिणी रोपवे निर्माण परियोजनामा सार्वजनिक कोषको दुरुपयोग, लामो समयदेखि अधुरो अवस्था तथा श्रमिकहरूको बकाया पारिश्रमिक नतिरेको गम्भीर विषयलाई लिएर अधिवक्ता बन्दना राईले एक महिनाभित्र कलकत्ता उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने घोषणा गरेकी छन्।
खरसाङको गिद्ध पहाडदेखि रोहिणी रोपवे परियोजना सन् 2014 मा स्वीकृत भई काम शुरु भएको 18 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर, 12 वर्ष बितिसक्दा पनि परियोजना अधुरै छ। निर्माण सामग्रीहरू जीर्ण भई नष्ट भएको, संरचनाहरू जोखिमपूर्ण अवस्थामा रहेको तथा परियोजनामा काम गरेका श्रमिकहरूले विगत 5 वर्षदेखि आफ्नो बकाया पारिश्रमिक नपाएको गम्भीर तथ्य अधिवक्ता बन्दना राईले सार्वजनिक गरेकी छन्।
यस विषयमा गोर्खाल्याण्ड प्रादेशिक प्रशासनको मौनता र निष्क्रियता अत्यन्त चिन्ताजनक रहेको अधिवक्ता राईले बताइन्। उनले जीटीए प्रमुख अनित थापालाई तत्काल हस्तक्षेप गरी सार्वजनिक हितका लागि रोपवे परियोजना शीघ्र सम्पन्न गर्न आग्रह गरेकी छन्। यसका साथै, दोषी ठेकादार, कम्पनी तथा सम्बन्धित निकायमाथि कानुनी कार्बाही अघि बढाउन पनि उनले माग गरेका छन्।
रिट निवेदनमार्फत् गिद्ध पहाड–रोहिणी रोपवे परियोजनाको सम्पूर्ण वित्तीय, प्राविधिक तथा प्रशासनिक अडिट गरिनु पर्ने र सार्वजनिक कोषको सम्भावित दुरुपयोग तथा भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गरिनु पर्ने माग गर्ने उनले बताएकी छन्। यसरी नै परियोजनामा कार्यरत श्रमिकहरूको 5 वर्षदेखिको बक्यौता पारिश्रमिक र क्षतिपूर्ति तत्काल उपलब्ध गरिनु पर्ने, जीर्ण तथा जोखिमपूर्ण संरचनाहरूको सुरक्षा मूल्यांकन गरी जनसुरक्षाको सुनिश्चितता गरिनु पर्ने, परियोजना पूरा गर्ने स्पष्ट समयसीमा सहित कार्ययोजना सार्वजनिक गरिनु पर्ने र भविष्यमा यस्ता परियोजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न निगरानी संयन्त्र गठन गरिनु पर्ने माग गर्ने बताएकी छन्।
अधिवक्ता राईले भनिन्, “यो केवल एउटा विकास परियोजना होइन, सार्वजनिक विश्वास, श्रमिक अधिकार र करदाताको पैसाको सम्मानसँग जोडिएको विषय हो। यदि सम्बन्धित निकायले तुरुन्त ठोस कदम चाल्दैन भने न्यायालयको हस्तक्षेप अपरिहार्य हुनेछ।” उनले सबै सरोकारवाला निकाय, जनप्रतिनिधि, नागरिक समाज र स्थानीय बासिन्दालाई सार्वजनिक सम्पत्तिको संरक्षण र श्रमिक न्यायको पक्षमा ऐक्यबद्ध हुन आह्वान गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक