
खरसाङ, 15 फरवरी (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले खरसाङमा पुन: गैर कानुनी रुपमा भवन निर्माणहरु शुरु भएको आरोप लगाएको छ। आईजीजेएफ खरसाङका महकुमा सचिव आरके शर्मा र 28 नम्बर समष्टिका संयोजक रोशन थापाले आज खरसाङमा आयोजित एक पत्रकार सम्मेलन यस्तो आरोप लगाए।
आईजीजेएफ नेतृवहरूले अगस्त 2024 मा खरसाङ बजारमा गैर कानुनी रुपमा निर्माण गरिएका भवनहरु रोक्नुपर्छ भन्दै भत्काइएको थियो, तर आज खरसाङ बजारको पुरानो एफसीआई गोदाममुन्तिर र पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा बहुतले भवन निर्माण भइरहेको बताए। आईजीजेएफ खरसाङका सचिव आरके शर्माले खरसाङ बजारको पुरानो एफसीआई गोदाम मुन्तिर र पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा नाली र हिँड्ने बाटो ढाकेर बहुतले भवन निर्माण कार्य चलिरहेको बताए।
उनले भने, नगरपालिकाद्वारा जनसाधारणले गरेका निर्माण कार्यहरूलाई गैर कानुनी भनेर भत्काउने कार्य गरियो, तर अहिले नगरपालिका क्षेत्रमा बनिरहेका बिल्डिङहरूलाई कसले अनुमति दियो? उनले उक्त गैर कानुनी रुपमा निर्माण भइरहेका बिल्डिङहरूमाथि नगरपालिकाले कारबाही नगरे आफुहरु कारबाही गर्न उत्रने चेताउनी दिए। शर्माले यस विषयमा अधिवक्ता वीरेन्द्र रसाइलीमार्फत नगरपालिकालाई दुईवटा कानुनी नोटिस पनि पठाएको जानकारी गराएका छन्।
उनले सुपर मार्केटमा रहेको खाली ठाउँमा पनि गैर कानुनी रुपमा दोकान बनाएर बिक्री गरेको विषयमा पनि नोटिस पठाइएको जानकारी गराए। उनले खरसाङ बजारमा कसरी गैर कानुनी रुपमा निर्माण कार्यहरू भइरहेका छन् र नगरपालिकाका सम्पत्तिहरु कसरी भटाभट बिक्री हुँदैछन्, त्यसमाथि स्पष्टीकरण चाहियो भनी नोटिस पठाएको बताए।
उनले भने, 'यो कानुनी प्रक्रियाबिनै काम भएको छ भने रद्द पनि हुनसक्छ, कारण हामी उच्च अदालतमा जानेछौँ। हामी खरसाङ बजारमा सही तरिकाले काम होस् भन्ने चाहन्छौं।' उनले अघि भने, 'सरकारको स्वीकृति नपाई काम गर्न अनुमति दिनु गैर कानुनी हो। खरसाङ बजारमा हुने लापरवाही विरुद्ध आईजीजेएफ उभिएको हुनेछ। खरसाङ बजारलाई बचाउन अब राजनीतिक पार्टीहरु, मिडिया, नागरिक समाज सबै अघि आउनुपर्छ। नागरिकहरु पनि अब सचेत हुनु आवश्यक छ।'
हिन्दुस्थान समाचार / हनोक