
गान्तोक, 15 फरवरी (हि.स.)। नेपाली साहित्य परिषद् (नेसाप), सिक्किमको आसन्न निर्वाचन रोचक मोडमा पुगेको छ। अध्यक्ष पदका प्रत्याशी साहित्यकार टीबी चन्द्र सुब्बाले पत्रकार सम्मेलनमार्फत नेपाली भाषा–साहित्यको उन्नयनका लागि महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेका छन्।
उनले सिक्किमका प्रथम महाकवि तुलसीराम शर्मा कश्यपको सालिक गान्तोकमा स्थापना गर्ने, भानु पुरस्कार प्राप्त दिवंगत साहित्यकारहरूको नाममा विशेष स्मृति पुरस्कार प्रदान गर्ने, राष्ट्रियस्तरको संगोष्ठी आयोजना गर्ने, परिषद्को मुखपत्र ‘कनका’ लाई एक हजार पृष्ठको वाङ्मय विशेषाङ्कका रूपमा प्रकाशित गर्ने तथा वरिष्ठ साहित्यकारहरूलाई सम्मान गर्ने योजना अघि सारेका छन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा सुब्बाले १४औँ कार्यकारिणी समिति गठनको सन्दर्भमा आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको जानकारी दिँदै सदस्यहरूको अमूल्य मत पाएमा केन्द्रिय कार्य समितिसँग मिलेर नयाँ र आधारभूत कार्यहरू अघि बढाउने बताए। यस वर्ष सरकारी सेवाबाट अवकाश ग्रहण गर्न लागेको बताउॅंदै उनले सेवानिवृत्तिपछि पनि भाषा–साहित्यको सेवामा निःस्वार्थ रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
सुब्बाले पाँचमध्ये चार कार्यसूची सार्वजनिक गर्दै भने, सिक्किमेली भूमिका प्रथम महाकवि तुलसीराम शर्मा कश्यपको सालिक गान्तोकमा निर्माण गरिनेछ। आगामी वैशाखी पर्वदेखि ‘सिक्किम साहित्य शिरोमणि पुरस्कार’ को थालनी गरिनेछ। दिवंगत ‘भानु पुरस्कार’ प्रापकहरूको नाममा ‘स्मरण दिवस’ आयोजना गरी भाषा–साहित्यमा योगदान पुर्याउने स्रष्टाहरूलाई विशेष सम्मान गरिनेछ। स्व. नरबहादुर भण्डारीको स्मृतिमा भाषा–साहित्य तथा सामाजिक सेवामा योगदान दिने ३२ जनालाई विशेष सम्मान गरिने छ।
उनले भने, परिषद्का आजीवन सदस्यहरूलाई एकपटक विशेष सांगीतिक–सांस्कृतिक कार्यक्रम आयोजना गरी अभिनन्दन गरिनेछ। प्रविधिमैत्री युग र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भलाई ध्यानमा राख्दै परिषद्को गतिविधिलाई आधुनिक प्रविधिसँग जोडिनेछ। सुब्बाले उल्लेखित सबै कार्यक्रम परिषद्को कोष उपयोग नगरी वैकल्पिक स्रोतबाट सञ्चालन गरिने स्पष्ट पार्दै सदस्यहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे।
उल्लेखनीय छ, नेसाप अध्यक्ष पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आगामी २२ फरवरीमा हुने तय भएको छ।
हिन्दुस्थान समाचार / बिशाल