आपतकालका ५० वर्ष: ‘आपतकाल र युवा’ विषयमा १९ फरवरीमा भोपालमा राष्ट्रिय विमर्श
हिन्दुस्थान समाचारको कार्यक्रम


भोपाल, 17 फरवरी (हि.स.)। देशमा आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा हिन्दुस्थान समाचारद्वारा विशेष वैचारिक कार्यक्रम आयोजना गरिँदैछ। ‘आपतकाल र युवा’ विषयमा केन्द्रित यो राष्ट्रिय विमर्श बिहिबार, १९ फरवरी, २०२६ मा भोपालमा आयोजना हुनेछ, जसमा देशका प्रबुद्ध व्यक्ति, चिन्तक तथा जनप्रतिनिधिहरूबीच व्यापक छलफल हुनेछ।

कार्यक्रम दिउँसो २ बजी स्याम ग्लोबल युनिवर्सिटी, रायसेन रोड परिसरमा आयोजना गरिनेछ। आयोजकका अनुसार, यस विमर्शको उद्देश्य आपतकालको ऐतिहासिक पृष्ठभूमि, त्यसको सामाजिक-राजनीतिक प्रभाव तथा वर्तमान युवा पुस्ताले त्यसबाट लिन सक्ने सन्देशमाथि गम्भीर मन्थन गर्नु हो। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारबारे समझदारी सुदृढ़ पार्ने यो एक महत्वपूर्ण प्रयास मानिएको छ।

उल्लेखनीय छ, केन्द्र सरकारले २५ जून, १९७५ मा लागू गरिएको आपतकालको स्मृतिमा हरेक वर्ष २५ जुनलाई “संविधान हत्या दिवस” का रूपमा मनाउने निर्णय गरेको छ। २५ जून, १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल लागू गरेकी थिइन्। त्यस अवधिमा मौलिक अधिकारहरूमा प्रतिबन्ध लगाइएको थियो, प्रेसमाथि सेन्सरशिप लागू गरिएको थियो र धेरै राजनीतिक नेताहरूलाई गिरफ्तार गरिएको थियो। यस दिवसको उद्देश्य लोकतन्त्रमा परेको गहिरो प्रभावलाई स्मरण गर्नु, संविधानको सर्वोच्चतालाई उजागर गर्नु तथा विशेषगरी युवालाई लोकतान्त्रिक स्वतन्त्रताको संरक्षणप्रति सजग गराउनु हो।

यस विशेष कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका पूर्व सरकार्यवाह तथा वर्तमान अखिल भारतीय कार्यकारिणी सदस्य सुरेश भैयाजी जोशी मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। उनले आपतकालको अनुभव, लोकतान्त्रिक मूल्यको संरक्षण र राष्ट्र निर्माणमा युवाशक्तिको भूमिकाबारे आफ्ना विचार राख्नेछन्।

कार्यक्रमका मुख्य अतिथि रूपमा मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव सहभागी हुनेछन्। यसवैगरी, विशिष्ट अतिथिका रूपमा उपमुख्यमन्त्री राजेन्द्र शुक्ल तथा पूर्व राज्यसभा सदस्य एवं लोकतन्त्र सेनानी संघका राष्ट्रिय अध्यक्ष कैलाश सोनीको उपस्थिति रहनेछ। कार्यक्रमको अध्यक्षता हिन्दुस्थान समाचार समूहका अध्यक्ष अरविन्द मार्डिकरले गर्नेछन्।

यस सम्बन्धमा आयोजक तथा हिन्दुस्थान समाचारका समूह सम्पादक, वरिष्ठ पत्रकार पद्म भूषण, पद्म श्री राम बहादुर रायका अनुसार, आपतकाल भारतीय लोकतन्त्रको इतिहासको एक महत्वपूर्ण अध्याय हो, जसबाट प्राप्त अनुभव र पाठ नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक छ।

उल्लेखनीय छ, हिन्दुस्थान समाचारले यसअघि दिल्ली र गुजरातमा पनि यही विषयमा सफल कार्यक्रम आयोजना गरिसकेको छ। भोपालको कार्यक्रमलाई सोही श्रृंखलाको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। कार्यक्रममा शिक्षाविद्, पत्रकार, सामाजिक अभियन्ता, विद्यार्थी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता अपेक्षित छ।

आयोजकहरूले विशेषगरी युवाहरूलाई कार्यक्रममा सहभागी भई यस ऐतिहासिक विषयमा हुने संवादको हिस्सा बन्न आह्वान गरेका छन्, ताकि लोकतन्त्रको यस महत्वपूर्ण अध्यायबाट प्राप्त शिक्षा भावी पुस्तासम्म प्रभावकारी रूपमा पुग्न सकोस्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande