
दार्जिलिङ, 17 फरवरी (हि.स.)। न्यूनतम ज्यालाको मागमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले आज दार्जिलिङमा जुलुसको आयोजना गऱ्यो। दार्जिलिङ बजारमा श्रमिक एकताको नारासहित आईजीजेएफको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले न्यूनतम ज्यालाको माग गर्दै सोमवार जुलुस निकाल्यो।
बजारको माल रोडस्थित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रिय कार्यालय पी कोठीबाट श्रमिक संघले निकालेको जुलुस शहरको चौरस्ता, नेहरू रोड हुँदै दार्जिलिङ टी ऐसोसिएशनको कार्यालयसम्म पुगेको थियो। जुलुसमा सामेल भएका समर्थकहरूले मजदुर एकता जिन्दाबाद, न्यूनतम ज्याला लागू गर जस्ता नाराहरू लगाएका थिए। जुलुसमा आईजीजेएफ केन्द्रिय संयोजक अजय एडवर्ड्स पनि सामेल थिए।
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रिय अध्यक्ष डीके गुरूङले पत्रकारहरूसँगको कुराकानीमा पहाड तराई डुवर्सका चिया बगानहरूमा न्यूनतम ज्याला लागू गर्न माग गर्दै गत 19 जनवरीदेखि धारावाहिक कार्यक्रमहरू गरिरहेको बताए। उनले आज दार्जिलिङ टी एसोसिएशनको कार्यालय पुगेर सन्दीप मुखर्जी, इण्डियन टी एसोसिएशनको मोहन छेत्री र जीटीएको अतिरिक्त श्रमायुक्तसॅंग भेट गरेर न्यूनतम ज्याला लागू गर्न माग गर्दै ज्ञापन पत्र चढाएको बताए।
ध्यक्ष गुरूङले भने, चिया श्रमिकहरूले 2 सय 50 रूपियाँ दैनिक ज्याला पाउँछन्। त्यसमा 30 रूपियाँ पीएफको लागि काट्दा 2 सय 20 रूपियाँ श्रमिकहरूको हात पर्छ। अहिले महॅंगाईको जमानामा 2 सय 20 रूपियाँले श्रमिकहरूले परिवारको पालन पोषण गर्न धेरै साह्रो पर्छ। त्यसकारण हामीले न्यूनतम ज्याला लागू गर्न माग गरेका हौं।
उनले अझ भने, यस मागको सम्बन्धमा राज्यको श्रम मन्त्रालयदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरूलाई पनि पत्राचार र ज्ञापन पत्र चडाउने कार्य गरिएको छ। तर, सरकारले हाम्रो मागलाई बेवास्ता गरेको छ। श्रमिकहरूले सहनुको पनि सिमा हुन्छ। यस्तो शोषण अब सहन गरिने छैन। चिया श्रमिकहरूले जबसम्म न्याय पाउँदैन तबसम्म हामी हाम्रो कार्यक्रमलाई जारी राख्ने छौ।
हिन्दुस्थान समाचार / हनोक