खरसाङ खण्ड विकास कार्यालयमा युवा साथी प्रकल्पको फारम भर्नेहरूको घुइँचो
Yuva prakalpa


खरसाङ, 17 फरवरी (हि.स.)। राज्य सरकारद्वारा युवा बेरोजगारहरूको निम्ति प्रदान गरिने भनिएको मासिक पन्ध्र सय रूपियाँको युवासाथी प्रकल्पको निम्ति खरसाङ खण्ड विकास कार्यालयमा फारम भर्नेहरूको निक्कै घुइँचो देखिएको छ। गत आइतवारदेखि शुरू गरिएको यस क्याम्पमा प्रत्येक दिन प्रायः दुईसयभन्दा अधिक युवाहरूले फारम बुझाइ रहेका छन्।

यसबारे खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्रीले राज्य सरकारद्वारा प्रदान गरिने यस सहुलियतको सबैले लाभ उठाउने आग्रह गरेकी छन्। उनले यस सम्बन्धमा कुनै पनि असुविधा भए अथवा अप्ठ्यारो परे खरसाङ पञ्चायत समिति सदैव उनीहरूलाई सहयोग गर्न तत्पर रहेको जनाइन्। उनले पन्ध्र सय रूपियाँ कुनै ठूलो रकम नभए पनि तर युवा बेरोजगारहरूको निम्ति यसले ठूलो आर्थिक सहायता पुग्ने जनाउँदै सबै युवाहरूलाई यसको फारम भरेर बुझाउने आग्रह गरेकी छन्।

यता फारम भर्न आएका युवाहरूले राज्य सरकार अनि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै मासिक पन्ध्र सयले पनि तिनीहरूको निम्ति अतिनै महत्त्वपूर्ण रकम रहेको जनाए। फरम भर्न तिनीहरूलाई कुनै असुविधा नभएको जनाउँदै यसको निम्ति खण्ड विकास कार्यालयले पनि धेरै सहयोग प्रदान गरिरहेको जनाए। फारम आगामी 26 फरवरीसम्म भरिने जानकारी खण्ड विकास कार्यालयले दिएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande