
गान्तोक, 17 फरवरी (हि.स.)। आईसीएआर सिक्किम केन्द्र, तादोङद्वारा आइसीएआर-कृषि विकास केन्द्र, पूर्व सिक्किमको सहयोगमा गान्तोक जिल्लाको मार्तम खण्डमा पर्ने नामराङ गाउँमा भारत विस्तार कार्यक्रम अन्तर्गत सफलतापूर्वक कम अवधिमा बढी उब्जनी दिने गुणस्तरी प्रोटिनयुक्त मकैबारे 17 फरवरीको दिन प्रशिक्षण एवं सामग्री वितरण कार्यक्रम आयोजित गरियो। गुणस्तरीय प्रोटिनयुक्त मकैको प्रजाति प्रोत्साहित गर्दै वैज्ञानिकतम हस्तक्षेपको माध्यमद्वारा कृषि उब्जनी अनि पोषण सुरक्षा बढाउन लक्षित कार्यक्रम आइसीएआर सिक्किम केन्द्र, तादोङका क्षेत्रीय केन्द्र प्रमुख डा. अशोक कुमारको नेतृत्त्वमा आयोजित गरिएको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
आईसीएआर सिक्किम केन्द्र, तादोङका कृषि विज्ञानी डा. अमित कुमारले कृषकहरूका लागि प्राविधिक सत्र सञ्चालित गर्दै कम अवधिमा बढी उब्जनी दिने प्रोटिनयुक्त मकैको प्रजाति जलवायुको विविधतालाई सम्बोधित गर्नका साथै समयमा फसल कटाई गर्नसकिने र कृषकहरूको आमदानीमा सुधार ल्याउन सकिने विषयबारे प्रकाश पारे। यसका साथै सिक्किमको कृषि जलवायु अनुकूल रहेको उन्नत कृषिविज्ञानी चलन, बिउको दर, पोषण प्रबन्धन तथा फसलको सुरक्षा उपायबारे पनि उनले जानकारी दिए। समग्र कार्यक्रम परिचालन डा. कुमारको दायित्त्व रहेको थियो।
आईसीएआर-केभीके, रानीपुल, पूर्व सिक्किमका वरिष्ठ वैज्ञानिक एवं प्रमुख डा. प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले आफ्नो सम्बोधनमा प्रविधिको प्रसारका साथमा कृषकहरूको सशक्तिकरणमा आइसीएआर अनि केभीकेको भूमिका रेखाङ्कित गरे। बढी उब्जनी अनि दिगो खेतीका लागि उनले कृषकहरूलाई उन्नत एलक्युएमएच-1 प्रजातिको मकैको बिउ छर्न प्रोत्साहित गरे।
प्रशिक्षण तथा वितरण गतिविधि सुचारू बनाउन आईसीएआर-केभीके, पूर्व सिक्किमका बागवानी एसएमएस बोनिफेस लेप्चा, एसटीओ अनुश्री गोगोई अनि एसआरएफ डा. पुनम छेत्रीले संयोजन गरेका थिए। कार्यक्रममा नामराङ गाउँका करिब 40 जना कृषकले सहभागिता जनाए।
पहल अनुरूप कृषकहरूलाई कम अवधिमा बढी उब्जनी दिने गुणस्तरीय प्रोटिनयुक्त मकैको प्रजाति एलक्युएमएच-1 -को बिउ वितरण गरियो, जुन मकैको उत्पादन बढाउनका साथै क्षेत्रमा आजीविका सुरक्षा सुदृढ बनाउन लक्षित छ। कार्यक्रमको अन्त्यमा कृषकहरूले समयमा बिउ अनि प्रविधि आपूर्ति गरिदिएकोमा केन्द्रप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल