
गान्तोक, 17 फरवरी (हि.स.)। सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले जेनराली सेण्ट्रल इन्सुरेन्सको प्रायोजनमा 'वरिष्ठ महिला फुटबल लिग 2026' आयोजना गरिरहेको छ। राजधानीको पाल्जोर स्टेडियममा आगामी 24 फरवरीदेखि शुरू हुन लागिरहेको यस प्रतियोगितामा सिक्किम लगायत दार्जिलिङ र सिलगढ़ीका छ फुटबल क्लबहरूले भाग लिइरहेका छन्। राजधानीस्थित फुटबल हाउसमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरियो।
एसएफए अध्यक्ष मेनला इथेन्पाले फुटबल खेलका लागि प्रायोजकहरू पाउन निकै गाह्रो पर्ने कुरा उल्लेख गर्दै यस पटक जेनराली सेण्ट्रल इन्सुरेन्सलाई प्रायोजकको रूपमा पाउॅंदा एसएफएले आफुलाई भाग्यमानी ठानेको बताए। प्रायोजक संस्थाले सिक्किमका महिला फुटबल खेलाड़ीहरूमा सम्भावना देख्न सकेकोमा खुशी प्रकट गर्दै उनले यस साहसिक कदमका लागि जेनराली सेण्ट्रल इन्सुरेन्सप्रति कृतज्ञता प्रकट गरे।
एसएफए अध्यक्षले वित्तीय सहायता र प्रायोजकहरूको अभावका कारण महिला फुटबल खेल अपेक्षित रूपमा अगाडि बढ्न नसकिरहेको आसय व्यक्त गर्दै यस समर्थनले महिला फुटबल खेलको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले जानकारी दिॅंदै भने, वरिष्ठ महिला फुटबल लिग आगामी 24 फरवरीदेखि शुरू हुनेछ र 8 मार्च अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा फाइनल सम्पन्न गरिने छ।
यस प्रतियोगितामा सिक्किमका चार तथा दार्जिलिङ र सिलगढ़ीका एक-एक फुटबल क्लबहरूले भाग लिइरहेका छन्। विजेता दललाई एक लाख र उपविजेता दललाई 50 हजार रूपियॉं पुरस्कार प्रदान गरिने छ। यस अतिरिक्त, प्रत्येक खेलमा 'वुमन अफ द म्याच' लाई पॉंच हजार रूपियॉं प्रदान गरिने छ। यसरी नै 'वुमन अफ द टुर्नामेन्ट' लाई दश हजार रूपियॉं प्रदान गरिने छ। उनले फाइनलमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मुख्य अतिथिका रूपमा आमन्त्रित गरिएको बताउॅंदै मुख्यमन्त्रीको उपस्थितिप्रति एसएफए आशावादी रहेको बताए।
जेनराली सेण्ट्रेल इन्सुरेन्सका एमडी एवं सीईओ अनुप राउले हामी राज्यको सामाजिक र विकास प्राथमिकताहरूलाई अगाडि बढाउन प्रतिबद्ध छौं भनी बताए। यसैगरी, संस्थाकी मुख्य विपणन अधिकारी रुचिका वर्माले जेनराली सेण्ट्रल इन्सुरेन्सले खेलकुदमा महिलाहरूलाई समर्थन गर्नु स्वाभाविक रूपमा अवसरमा पहुँच समान हुनुपर्छ भन्ने हाम्रो विश्वाससँग मेल खान्छ भनी बताइन्।
हिन्दुस्थान समाचार / बिशाल