
खरसाङ, 18 फरवरी (हि.स.)। खरसाङका एक साहित्यिक व्यक्तित्व तिलक थापा 'झटारे' को निधन भएको छ। उनको निधन मंगलवार राति 10:30 बजीतिर 73 वर्षको उमेरमा निधन भएको छ।
खरसाङको सिंगेल चियाबारी क्षेत्रमा जन्मेर रेलवे विभागमा कार्य गर्दै लामो समयसम्म खरसाङको गिद्ध पहाडमा बसेका थिए भने हालमा मतिगढामा बस्दै आएका थिए। उनी 2021 देखि ह्रदयघातको कारणले प्यारालाइज भएर बिमारी अवस्थामा थिए।
उनले आफुपछि पत्नी, एक छोरा र एक छोरी साथै आफन्तजन छोडी गएका छन्। उनको अन्त्येष्टि कार्य आगामी 26 फरवरी मतिगढामा हुने भएको जानकारी प्राप्त भएको छ। तिलक थापा 'झटारे' ले आफ्नो समयमा खरसाङमा आयोजित विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै साहित्यिक रचनाहरु पनि लेख्दै आएका थिए।
यसका साथै खरसाङको विभिन्न साहित्यिक संस्थाहरूसित पनि सक्रिय रुपमा संलग्न रहेका थिए। उनको निधनले खरसाङको साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक