
डायमण्ड हार्बर, 18 फरवरी (हि.स.)। डायमण्ड हार्बर थाना पुलिसले छात्राहरूसित कुप्रस्ताव राखेको, लगातार अश्लील सन्देश पठाएको तथा यौन उत्पीड़न गरेको आरोपमा एकजना सहायक प्रोफेसरलाई पक्राउ गरेको छ। पक्रा पर्ने सहायक प्रोफेसर रविकान्त बल्लभ डायमम्ड हार्बरको एक निजी विश्वविद्यालयको स्वास्थ्य विज्ञान विभागमा सहायक प्रोफेसरको रूपमा कार्यरत थिए। बुधवार उनलाई अदालतमा पेश गरिने जानकारी पुलिस सूत्रले दिएको छ।
गए मंगलवार बिहानदेखिकै आरोपी शिक्षकलाई पक्राउ गर्नुपर्ने मागमा विश्वविद्यालय परिसरमा चरणबद्ध ढंगमा प्रदर्शन शुरू भएको थियो। आरोपीको क्वार्टर सामु पनि प्रदर्शन गरियो। पछि घटनास्थलमा पुगेको पुलिसलाई पनि घेरेर विरोध प्रदर्शन गरियो। लगभग पाँच घण्टासम्म तनाउपूर्ण स्थिति भएपछि पुलिसले आरोपीलाई पक्राउ गरी थानामा लग्यो।
प्रदर्शनकारी छात्राहरूको आरोप छ, आरोपीले विभिन्न समयमा सन्देश पठाएर कुप्रस्ताव राखेको थियो। उसले अशोभनीय टिप्पणीहरू गर्थ्यो अनि प्र्याक्टिकल कक्षा वा परीक्षाको बेलामा सहयोगको नाममा यौन उत्पीड़न गर्थ्यो। गत शुक्रवार अपरान्ह विश्वविद्यालय प्रबन्धनलाई लिखित सिकायत सुम्पिइएको थियो। तर कुनै कारबाही नभएको कारणले विद्यार्थीहरूमा आक्रोश बढ़्दै गयो।
गत सोमवार विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन भएको थियो। मंगलवार बिहान परिसरको क्वार्टर निकट आरोपीलाई हाफ प्यान्ट र स्याण्डो बनियानमा घुमिरहेको देखेर विद्यार्थीहरूको आक्रोश झन चरममा पुग्यो। बिहान 9 बजे मुख्य द्वारलाई अवरूद्ध गरी प्रदर्शन गर्न शुरू गरियो। स्थिति तनाउपूर्ण भएपछि अतिरिक्त पुलिस अधीक्षकको नेतृत्वमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो।
आरोपीलाई पक्राउ गर्ने आश्वासन पाएको लगभग पाँच घण्टापछि मात्र प्रदर्शनलाई फिर्ता लिइयो। त्यसपछि छात्राहरूले थानामा लिखित सिकायत दर्ता गराए।
विश्वविद्यालयको सरिषा परिसरका सह-सभापति सुभाष मुखोपाध्यायले बताए, सिकायत पाएपछि अतिरिक्त सिकियात समिति (आईसीसी)-को बैठक गरी आरोपीलाई बर्खास्त गर्ने निर्णय लिइएको थियो, तथापि त्यो निर्णय लागू हुन अगावै प्रदर्शन शुरू भयो।
डायमण्ड हार्बर पुलिस जिल्लाका पुलिस अधीक्षक बिशप सरकारले भने, छात्राहरूको सिकायतको आधारमा आरोपीलाई पक्राउ गरिएको छ। सम्बन्धित धाराहरूमा मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा