


गान्तोक, 18 फरवरी (हि.स.)। सिक्किमका दुई जना महिला क्रिकेट खेलाड़ीहरू सिनियर वुमन्स इन्टर-जोनल वान डे ट्रफीको लागि 15 सदस्यीय नर्थ इस्ट जोन स्क्वाडमा छनोट भएका छन्। छनोट हुने खेलाड़ीहरूको नाम प्रिमुला छेत्री र प्रीतिका छेत्री हुन्। यस अतिरिक्त, सिक्किम क्रिकेट संघ (सिका) की कोचिङ स्टाफ किकम भोटियालाई नर्थ इस्ट जोन वुमन्स टिमको प्रमुख प्रशिक्षक नियुक्ति गरिएको छ।
सिकाले जानकारी गराए अनुसार, 5 मार्च, 2026 देखि शुरू हुने सिनियर वुमन्स इन्टर-जोनल वान डे ट्रफीको लागि नर्थ इस्ट जोनल चयन समितिको गत 13 फरवरीका दिन गुवाहाटीमा बैठक बस्यो। बैठकमा अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमका चयनकर्ताहरू सहभागी भए। यसैगरी, बैठकमा छ राज्य संघका कार्यकारी सदस्यहरू पनि उपस्थित थिए। सिका अध्यक्ष टिका सुब्बा र मानद सचिव नयन छिरिङ भोटिया पनि सहभागी थिए।
15 सदस्यीय नर्थ इस्ट जोन स्क्वाडमा सिक्किमकी अल राउण्डर प्रिमुला छेत्री र ब्याट्सवुमन प्रीतिका छेत्री छनोट भएका छन्। उनी दुवै सिक्किम सिनियर वुमन्स टिमका सदस्यहरू हुन् भने उनीहरूको प्रदर्शनको आधारमा उनीहरूलाई छनोट गरिएको बताइएको छ। यसरी नै सिकाकी कोचिङ स्टाफ किकम भोटियालाई स्क्वाडको प्रमुख प्रशिक्षक नियुक्त गरिएको छ। पूर्वोत्तरबाट पहिलो लेभल-बी प्रमाणित महिला प्रशिक्षक भोटियाले विभिन्न प्रतिस्पर्धाहरूमा प्रशिक्षकको कार्यभार सम्हालिसकेकी छन्।
सिनियर वुमन्स इन्टर जोनल वान डे ट्रफी यस पटक बेङलुरुमा आयोजना भइरहेको छ। यस प्रतियोगितामा कुल छ दलले भाग लिनेछन्, जसमा सेण्ट्रल जोन, इस्ट जोन, नर्थ जोन, नर्थ इस्ट जोन, साउथ जोन र वेस्ट जोन सामेल छन्। यस प्रतियोगिताको फाइनल 15 मार्च, 2026 मा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल