
कोलकाता, 19 फरवरी (हि.स.)। उत्तर बंगालको हिमाली क्षेत्र खरसाङबाट भारतीय जनता पार्टी (भाजपा) विधायक विष्णुप्रसाद शर्मा बिहीवार तृणमूल कंग्रेसमा सामेल भए। उनले कोलकाता स्थित तृणमूल भवनमा पार्टीको झण्डा समातेर औपचारिक रूपमा सत्तारूढ़ दलको सदस्यता ग्रहण गरे। यस अवसरमा मन्त्री शशि पाञ्जा र ब्रात्य बसु पनि उपस्थित थिए।
विष्णुप्रसाद शर्मा पछिल्लो दुई वर्षदेखिको भाजपादेखि रूष्ट भएका थिए भने उनले कैयौं पटक पार्टीको विरोधमा सार्वजनिक बयान पनि दिइसकेका थिए। वर्ष 2024-को लोकसभा चुनाउमा दार्जीलिङ सीटबाट राजू बिष्टलाई फेरि उम्मेद्वार बनाएको विरोधस्वरूप उनले निर्दलीय उम्मेद्वारको रूपमा चुनाउ लड़ेका थिए। त्यसपछिदेखि नै उनी पार्टीदेखि टाँड़िएका थिए।
भाजपासित मतभेद भएपनि उनको सम्पर्क राज्यमा विपक्षका नेता शुभेन्दु अधिकारीसित कायम थियो। बिमारी हुँदा पनि अधिकारीले उनको उपचारमा व्यक्तिगत रूपमा सहयोग गरेका थिए। त्यसताक शुभेन्दु अधिकारीले भनेका थिए, विष्णुप्रसाद पार्टीसित रूष्ट हुन सक्छन्, तर उनी तृणमूलमा भने जाने छैनन्। तथापि अब उनले तृणमूलमा सामेल भएर यस अड़कललाई गलत साबित गरिदिएका छन्।
आगामी महिना हुने राज्यसभा चुनाउको सँघारमा उनी तृणमूलमा सामेल हुनु भनेको भाजपाको लागि ठूलो झट्का मानिँदैछ। उनी गएपछि राज्य विभानसभामा भाजपा विधायकहरूको संख्या घटेर 64 भएको छ। राज्यसभा चुनाउमा विधायकहरूको मतको आधारमै सांसद चुनिन्छ, त्यसैले भाजपाको चिन्ता बढ़्नसक्छ।
विष्णुप्रसाद शर्मा पछिल्लो लामो समयदेखिकै अलग राज्य गोर्खाल्याण्डका समर्थक रहिआएका छन्। उनले आफ्ना निकटवर्ती मानिसहरूसित भन्थे, भाजपाले उनलाई गोर्खाल्याण्डको मुद्दामा धोका दियो।
सूत्र अनुसार, पछिल्लो एक वर्षदेखि उनी विधानसभामा भाजपाको दल कार्यालयमा पनि गएका थिएनन्। पार्टी कार्यक्रमहरूदेखि टाँड़िएका थिए। विधासभा सत्रमा भाजपा विधायकहरूसित बसे पनि उनले कुनै पनि कार्यक्रममा भाग लिँदैन थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा