मेदिनीपुरमा भित्ते लेखनलाई लिएर विवाद, धर्मको आधारमा भोट माग्ने अपीलमाथि प्रश्न
मेदिनीपुरमा भित्ते लेखनलाई लिएर विवाद, धर्मको आधारमा भोट माग्ने अपीलमाथि प्रश्न


मेदिनीपुर, 19 फरवरी (हि. स.)। चुनाउ आउनसाथ राजनीतिक दलहरूको प्रचार-लेखनले भित्ताहरू भरिन्छन्। आगामी विधानसभा चुनाउको प्रचारलाई मध्यनजर गर्दै यसपालि भित्ते लेखनलाई लिएर विवाद उत्पन्न भएको छ। आरोप छ, उक्त लेखनमा एक समुदायको उल्लेख गर्दै मतदान गर्ने अपील गरिएको छ जसलाई लिएर राजनीतिक दलका नेताहरू सहित केही मतदाताहरू पनि सक्रिय भएका छन्।

पश्चिम मेदिनीपुर जिल्लान्तर्गत मेदिनीपुर शहरको गोलापिचक क्षेत्रमा भाजपासित सम्बन्धित एक भित्ते लेखन विवादको कारण बन्न पुगेको छ। भित्तामा लेखिएको छ— “जन्म जब हिन्दू कुलमा, भोट दिनेछौं कमल फूलमा” साथै त्यसको छेउमा ठूलो आकारमा कमलको फूल चुनाउ चिन्ह बनाइएको छ।

एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन) प्रक्रिया अवधि नै राजनीतिक दलहरूले आ-आफ्नो चुनावी तयारीलाई तीव्रता दिइरहेको छ। सत्तापक्ष र विपक्ष दुवै नै प्रचारको माध्यमबाट मतदाताहरूसम्म आफ्नो सन्देश पुऱ्याउन सक्रिय भएका छन्। तथापि गोलापिचकको उक्त भित्ते लेखनमा धार्मिक पहिचानको आधारमा भोट माग्ने अपील गरिएको कारण साम्प्रदायिकताका आरोप लागेको छ।

आलोचकहरूको भनाइ छ, यो साम्प्रदायिक विभाजनको संकेत हो र चुनावी माहोललाई प्रभावित पार्नसक्छ।

मेदिनीपुर जिल्ला तृणमूल कंग्रेसका अध्यक्ष तथा विधायक सुजय हाजराले आरोप लगाए, एक विशेष दलले पछिल्लो लामो समयदेखिकै धर्मको आधारमा राजनीति गरिरहेको छ। उनीहरूले भने, बंगालमा यसअघि यस किसिमको भित्ते लेखन देखिएको छैन। विकास वा कामको आधारमा भोट माग्नको सट्टा धार्मिक विभाजनको माध्यमबाट मानिसहरूलाई प्रभावित पार्ने चेष्टा गरिँदैछ।

पश्चिम मेदिनीपुरका वामपन्थी नेताहरूले पनि यस भित्ते लेखनलाई संविधान विरोधी बताउँदै प्रतिक्रिया दिए। जिल्ला स्तरका नेताहरूको भनाइ छ, धर्म वा जातिको आधारमा भोट माग्नु लोकतान्त्रिक मूल्यहरू विपरीत छ। उनीरूले प्रशासनसित यस मामिलाको जाँच गरी आवश्यक कदम उठाउने माग गर्दै भने, चुनाउ लोकतन्त्रको उत्सव हो जहाँ विभाजनको सन्देश स्वीकार्य हुन सक्दैन।

तथापि भाजपाबाट भिन्नै मत आएको छ। जिल्ला भाजपाका उपाध्यक्ष शंकरर गुच्छाइतले भने, यो लेखन कसले लेख्यो भन्ने कुराको जानकारी उनलाई छैन। राज्यमा हिन्दूहरूमाथि हमला भइरहेका आरोपहरूबीच कुनै व्यक्तिले यसरी समर्थनमा सन्देश दिनसक्छ र यसमा कुनै अन्य समुदायलाई भोट दिने कुरा गरिएको छैन।

यस मुद्दामा आम मतदाताहरूबीच पनि मिश्रित प्रतिक्रिया देख्न पाइयो। मेदिनीपुरकी मतदाता सोमी ब्यानर्जीले भनिन्, उनी लगभग 22 वर्षदेखिको मतदान गरिरहेकी छन्, तर वर्तमानमा राजनीति धार्मिक ध्रुवीकरणको दिशामा गइरहेको देखिँदैछ। त्यसैले एकजना मतदाताको रूपमा उनी यसको पक्षमा छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande