विकासको लागि विकास ल्याउन सक्ने पार्टीलाई जिताएर पठाउनु आवश्यक छ: अनित थापा
anit thapa


खरसाङ, 19 फरवरी (हि.स.)। 'म हारेर पनि यस क्षेत्रमा विकासको काम गर्दैछु। तर, भाजपाले भोट जितेर पनि धन्यवादसम्म भन्नु आएन। भाजपालाई जिताएर हामीलाई नै नोक्सान भएको छ। भाजपालाई जिताएको 20 वर्ष भयो‌, तर भाजपाले कुनै प्रकारको सहयोग गरेन।' उक्त कुरा आज घुम्ती चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) तीनधारे महानदी समष्टिको कर्मी सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले भनेका हुन्।

उनले भने, 'हामी बंगालमा बसेर दिल्लीलाई भोट हाल्छौं, अन्त विकास कसरी हुन्छ।' उनले आगामी विधानसभा चुनाउमा पनि तृणमूल कांग्रेसको सरकार बनिने दाबी गर्दै तृणमूल कांग्रेसको सरकार बनेपछि अर्को पार्टीको विधायकलाई जिताएर पठाउँदा विकास आउँदैन भनी बताए। उनले भने, 'विकासको लागि विकास ल्याउन सक्ने पार्टीलाई जिताएर पठाउनु आवश्यक छ।'

अनित थापाले अघि भने, 'भाजपाले दिने भए बहुमतको सरकार हुँदा नै दिनु पर्ने हो। तर, नेताहरु आएर सपना मात्र देखाएर जान्छन्। सपना कहिले पनि बिपना हुँदैन। हामीले शान्ति परिवेश बनाएका छौं र यो परिवेशले गर्दा नै शिक्षामा उन्नति भइरहेको छ। यसपालीको भोट हावामा नजाओस्, किनभने प्रत्येक भोटको महत्व छ।'

पार्टी अध्यक्ष थापाले आफ्नो सम्बोधनमा भाजपाले एसआईआर लगाएर हाम्रो परिचयमाथि शंका गरेको छ र लाइनमा उभ्याएर दु:ख दिएको बताए। उनले यस क्षेत्रमा विकास कार्यहरु धेरै गरेको बताउँदै आफुले भोट आउँदा पनि भोट नआउँदा पनि काम गरिरहेको बताए। उनले अझ भने, 'जनताले अनित थापाले ल्याएको पट्टा थाप्नु मानेन। सरकारले दिएको पट्टा पनि स्वीकार गरेन। कमान बस्तीले ठूलो कुरा गुमायो। हामीले भाजपा आएर केवल गुमाएका छौँ। पहाडमा 80 प्रतिशत जनताको हातमा जमीनको कागज पत्र छैन।'

उनले आरोप लगाउँदै भने, 'चुनाउको समयमा मात्र न्यूनतम ज्यालाको कुरा आउँछ। चुनाउको बेला मात्र गोर्खाल्याण्डको कुरा आउँछ। चुनाउको बेला मात्र जाति र माटोको कुरा आउँछ।' थापाले पार्टी कार्यकर्ताहरुलाई आह्वान गर्दै भने, 'सबैले आफ्नो आफ्नो बुथको जिम्मेवारी लिनुपर्छ। किनभने हरेक बुथमा केही न केही विकासको कार्य भएको छ। अब कार्यकर्ताहरुले जिम्मेवारी लिएर काम गर्नुपर्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande