
खरसाङ, 19 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) महानदी तीनधारे समष्टिको कर्मी सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा केन्द्रिय अध्यक्ष अनित थापाको अध्यक्षतामा सम्पन्न भयो। आगामी चुनाउलाई ध्यानमा राख्दै भागोप्रमोले विभिन्न समष्टिहरुमा कर्मी सभा आयोजना गर्दै आइरहेको छ। यस क्रममा आज महानदी तीनधारे समष्टिलाई लिएर कर्मी सभा आयोजन गरियो।
सभामा भागोप्रमोको केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा र पार्टी महासचिव अमर लामालाई समष्टिको तर्फबाट भव्य स्वागत जनाइयो। उनीहरूलाई महानदी बजारको मोटर स्ट्याण्डमा स्वागत गरेर घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनसम्म बाजा गाजाको साथमा लगिएको थियो।
कर्मी सभाको शुरुमा जीटीए प्रमुखले घुम्ती चियाबारीमा भूतपूर्व सैनिकहरुका लागि सार्वजनिक भवन र घुम्ती कमानका लागि सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरे। सभालाई सम्बोधन गर्दै पार्टीको केन्द्रिय महासचिव अमर लामाले भने, 'भागोप्रमो सत्तामा आएपछि पहाडमा एक घण्टा पनि बन्द भएको छैन। शान्ति स्थापना भएको छ। शान्तिपूर्ण परिवेश सिर्जना गर्न सफल भएका छौँ।'
उनले भने, 'भाजपाको झूटको राजनीतिको रहस्य खुलेको छ र भाजपा अत्तालिएको छ। भोट हाल्ने अधिकार संविधानले दिएको छ। तर, यो अधिकार पनि भाजपाले खोस्दैछ। 2009 देखि भाजपालाई भोट दिएर जिताउँदा कुनै कागज खोजेन, तर अहिले 2026 मा हार्ने डरका कारण कागज पत्र खोज्दैछ।'
लामाले भने, 'भाजपाले दिनुको सट्टा अझ साह्रो पार्दैछ। भाजपाले एसआईआर लगायो र भविष्यमा एनआरसी पनि लागू गर्छ, कारण यो भाजपाको एजेण्डामा छ।'
केन्द्रिय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोनले पहाडमा शान्ति छ नै शिक्षामा उन्नति भएर गइरहेको बताए। उनले तीनधारे महानदी समष्टिले यसपालीको चुनाउ जित्ने पनि ठोकुवा गरे। उनले पहिलाको भाजपा विधायकले के के काम गरे रिपोर्ट कार्ड खोज्नुपर्छ भनी बताए। उनले भाजपालाई भोट दिएको परिणाम एसआईआरको लागि लाइनमा उभाएको छ भने अब राशन कार्ड पनि काट्दैछ भने। उनले जनतालाई यसपाली सोचेर भोट हाल्न आह्वान् गरे।
हिन्दुस्थान समाचार / हनोक