भाजपा सिक्किमको नाम्चीमा समन्वय बैठक, नगरपालिका चुनाउमाथि छलफल
भाजपा सिक्किमको नाम्चीमा समन्वय बैठक


गान्तोक, 19 फरवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) नाम्ची जिल्लाले आज नाम्ची जिल्ला कार्यालयमा संगठनात्मक समन्वय बैठक आयोजना गर्‍यो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष तथा जिल्ला प्रभारी अरुणा मंगर, महासचिवद्वय अर्जुन राई र दिनेशचन्द्र नेपाल, जिल्ला अध्यक्ष टाशी डाडुल भोटिया र पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा जिल्लामा पार्टीको संगठनात्मक कार्यप्रणालीको गहन समीक्षा गरिनुका साथै वर्तमान चुनौतीहरू र आगामी मार्गचित्रमाथि छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा जिल्ला अध्यक्ष र मण्डल अध्यक्षहरूले आ-आफ्नो निर्वाचन क्षेत्रको संगठनात्मक शक्तिको बारेमा प्रतिक्रिया, सुझाउ र अन्तर्दृष्टि साझा गरे। यस क्रममा आगामी नगरपालिका चुनाउको तयारीका लागि रणनीतिहरूमाथि पनि चर्चा गरियो।

प्रदेश अध्यक्ष थापाले चुनौतीहरू पार गर्न र तृणमूल स्तरमा पार्टीलाई अझ बलियो बनाउन राज्य नेतृत्वबाट पूर्ण समर्थनको आश्वासन दिए। उनले जिल्ला र मण्डल अध्यक्षहरूले उठाएका चिन्ता र सिफारिसहरूलाई पनि सम्बोधन गरेका थिए। उनले पार्टी कार्यकर्ताहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण र भाजपाको मूल आदर्श अनुरूप सिक्किमका जनताको सेवामा आफ्नो प्रयास दोब्बर बनाउन आग्रह गरे।

बैठकका क्रममा लगभग १० परिवार भाजपामा सामेल भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande