
मालदा, 20 फरवरी (हि. स.)। इंग्लिश बजार थाना अधिनस्थ खासखोल क्षेत्रमा एक जना महिलाको रगताम्मे शव भेटिनाले क्षेत्रमा कोकोहोलो मचियो। मृत महिलाको पहिचान दया चौधरी (46)-को रूपमा भएको छ। पतिको मृत्युपछि तिनी घरमै एक्लै बस्दै आएकी थिइन्। शुक्रवार बिहान उनको शव भेटियो। यस घटनापछि स्थानीय मानिसहरूले क्षेत्रमा बढ़्दो जँड़्याहरूको गतिविधिमाथि प्रश्न उठाएका छन्।
स्थानीय सूत्र अनुसार लगभग दुई वर्षपूर्व उनका पति सुबोध चौधरीको क्यान्सरले मृत्यु भएको थियो। उनको छोरा राज्य बाहिर काम गर्छ भने दुई जना छोरीहरूको विवाह भइसकेको छ। त्यसले दया देवी इंग्लिश बजारको मिल्की आउटपोस्ट अन्तर्गत खासखोलस्थित घरमा एक्लै बस्थिन्। एक्लोपनको फाइदा उठाएरै उपद्रवीहरूले यस घटनालाई परिणाम दिएको आशंका व्यक्त गरिँदैछ।
छिमेकीहरूको भनाइ छ, गए बिहीवार राति दया देवीले आफ्नी छोरीहरूसित फोनमा लामो बातचित गरेकी थिइन्। शुक्रवार बिहान दुधवाला सदा जस्तै दुध दिन घरमा पुग्यो र उसले कैयौं पटक बोलाउँदा पनि कुनै जवाफ नआउँदा शंका लागेर उसले छिमेकीहरूलाई सूचित गऱ्यो। त्यसपछि घरको झ्यालबाट चिहाएर हेर्दा मानिसहरू हक्क न बक्क भए। दया देवी घरको भुइँमा रगताम्मे अवस्थामा लड़िरहेकी थिइन्।
सूचना पाउनसाथ इंग्लिश बजार पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। स्थानीय मानिसहरूको आरोप छ, क्षेत्रमा नशाखोरहरूको आतंक बढ़्दो छ र नशाको लागि पैसा जुटाउन वा चोरी गर्ने उद्देश्यले यस घटनालाई परिणाम दिइएको हुनसक्छ।
पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आउनअघि मृत्युको सही कारण पत्तो लाग्न सक्दैन। परिवारको पक्षबाट अहिलेसम्म कुनै लिखित सिकायत दर्ता गरिएको छैन। तथापि पुलिसले स्वतः संज्ञान लिएर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा