साक्षात्कार: उदीयमान तारा अङ्गकृष रघुवंशीको मन्त्र- क्रिकेटलाई जिउ, टिमलाई जिताऊ
अङ्गकृष रघुवंशी


नयाँ दिल्ली, 20 फरवरी (हि.स.)। भारतीय क्रिकेटका उदीयमान तारा अङ्गकृष रघुवंशीले सानै उमेरमा ठूलो मञ्चमा आफ्नै पहिचान बनाएका छन्। आईसीसी अन्डर-१९ विश्वकप २०२२ मा भारतका शीर्ष रन-स्कोरर बनेपछि उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका लागि प्रभावशाली प्रदर्शन गरेका छन्। हालै विजय हजारे ट्रफी र सैयद मुश्ताक अली ट्रफीमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे। प्रस्तुत छन् सुनील दुबेसँग गरिएको विशेष कुराकानीका मुख्य अंश-

आईपीएल २०२४ मा निडर युवाबाट २०२६ सम्म केकेआरका भरपर्दा स्तम्भ बन्ने क्रममा तपाईको मानसिकता र म्याच टेम्परामेन्टमा के परिवर्तन आयो?मैले फरक-फरक परिस्थितिमा कसरी ब्याटिङ गर्ने भन्ने कुरा सिके। सिनियर खेलाडीहरूसँग खेल्दा धेरै कुरा सिक्न पाएँ, विपक्षी टोलीलाई हेरेर पनि सिके। टोलीलाई जिताउने धेरै तरिका हुन्छन्। हरेक खेलाडीको आफ्नै खेल हुन्छ, तर सबैभन्दा महत्वपूर्ण कुरा टोलीको जित हो। अहिले मेरो सोच व्यक्तिगत प्रदर्शनभन्दा बढी टोलीको जितमा केन्द्रित छ।

अभिषेक नायरको मेन्टरशिपले तपाईको खेललाई कसरी निखाऱ्यो? उहाँको कुन सल्लाह टर्निङ प्वाइन्ट बन्यो?एउटै सल्लाहलाई टर्निङ प्वाइन्ट भन्न सकिँदैन, तर उहाँले मलाई क्रिकेट मात्र होइन, जीवन पनि सिकाउनुभयो। कठिन प्रशिक्षण सत्रमार्फत मलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निकाल्नुभयो, जुन मेरो करियरको वास्तविक मोड बन्यो। उहाँले मलाई खेललाई माया गर्न सिकाउनुभयो। उहाँसँगको मेरो यात्रा अत्यन्त सुन्दर रह्यो र आशा छ, आगामी दिनमा पनि यस्तै रहनेछ।

कोलकाता नाइट राइडर्ससँगको यात्राले तपाईको आत्मविश्वास कसरी बढायो?यति ठूलो फ्रेन्चाइजीले तपाईमाथि विश्वास गरेपछि आत्मविश्वास बढ्छ। साथै जिम्मेवारी पनि बढ्छ कि उनीहरूले ममाथि भरोसा गरेका छन् भने मैले पनि टोलीलाई जिताउनुपर्छ। मेरो ध्यान सधैं टोलीका लागि अधिकतम योगदान दिनुमा रहन्छ।

रणजी ट्रफीमा रोहित शर्मासँग ड्रेसिङ रुम साझा गर्ने अनुभव कस्तो रह्यो? उहॉंबाट के सिक्नुभयो?रोहित शर्माबाट सिक्ने सबैभन्दा ठूलो कुरा उहाँको तयारी हो। कुनै पनि खेल वा विपक्षी भए पनि उहाँ तयारीमा कमी छोड्नुहुन्न। उहाँ अत्यन्त बुद्धिमत्तापूर्वक क्रिकेट खेल्नुहुन्छ, बलरले के गर्नेछ, फिल्ड सेटअप कस्तो छ र आफ्ना बलिया सट कुन-कुन हुन् भन्ने सबै थाहा हुन्छ। उहाँले यति धेरै तयारी गर्नुहुन्छ भने हामीले पनि त्यत्तिकै मेहनत गर्नुपर्छ।

जसप्रीत बुमराह र राशिद खानजस्ता विश्वस्तरीय बलरसँग खेल्दा तपाईको तयारी कस्तो हुन्छ?जसप्रीत बुमराहजस्ता बलरसँग खेल्न तयारी गर्नु सजिलो छैन। उहाँ विश्वकै उत्कृष्ट बलरमध्ये एक हुनुहुन्छ। जतिसुकै अभ्यास गरे पनि उहाँलाई खेल्नु चुनौतीपूर्ण नै हुन्छ। तर, ठूला बलरसँग खेल्न अभ्यास पनि त्यत्तिकै कठिन हुनुपर्छ। म आफ्नो तयारीलाई सकेसम्म कडा बनाउने प्रयास गर्छु ताकि खेलमा राम्रो प्रदर्शन गर्न सकूँ।

तपाईका आदर्श खेलाडी को-को हुन्?म सानो हुँदा मेरा आदर्श एबी डिविलियर्स र विराट कोहली थिए। तर, अहिले मलाई शुभमन निकै मनपर्छ। म उहाँलाई आफ्नो आदर्श मान्छु।

जसले तपाईलाई आदर्श मान्छन्, ती युवालाई तपाईको सन्देश के छ?म यति मात्र भन्न चाहन्छु कि सकेसम्म कडा अभ्यास गर्नुहोस्। धेरैभन्दा धेरै समय मैदानमा बिताउनुहोस्। यदि क्रिकेट खेल्न चाहनुहुन्छ भने त्यसलाई केवल खेल्नु मात्र होइन, जिउनुहोस्। जब तपाई खेललाई जिउनुहुन्छ, तब मात्र त्यसको आनन्द लिन सक्नुहुन्छ र सफल पनि हुन सक्नुहुन्छ।

आईपीएल २०२६ का लागि तपाईको तयारी कस्तो चलिरहेको छ?अहिले म आफ्नो मुम्बई अन्डर-२३ टोलीका लागि खेलिरहेको छु। हाल पूरा ध्यान टोलीलाई कसरी जिताउने भन्नेमा छ। त्यसपछि आईपीएलको तयारी हुनेछ। आईपीएल होस् वा मुम्बई टोली, मेरो ध्यान सधैं टोलीको जितमै केन्द्रित रहनेछ।

टी-२० विश्वकपका लागि टोली भारतलाई तपाईको सन्देश?मलाई पूर्ण विश्वास छ कि भारतले विश्वकप जित्नेछ। यदि जित्छ भने प्रतियोगिताको उत्कृष्ट खेलाडी को बन्छ भन्ने कुरा महत्वहीन हुन्छ, सबैभन्दा महत्वपूर्ण कुरा देशका लागि ट्रफी जित्नु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande