छत्तीसगढ़का पत्रकारहरूले मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट गरे
छत्तीसगढ़का पत्रकारहरूले मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट गरे


गान्तोक, 20 फरवरी (हि.स.)। सिक्किम भ्रमणमा रहेको छत्तीसगढ़का पत्रकारहरूको 12 सदस्यीय प्रतिनिधि टोलीले शुक्रवार बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राजधानीको मिन्तोकगाङस्थित उनको सरकारी आवासमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधि टोलीको अगुवाई पीआईबी गान्तोकका सहायक निर्देशक मानस पी. शर्माले गरेका थिए।

पत्रकारहरूको टोलीसॅंग अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले सिक्किम सरकारले चालेका विभिन्न विकासात्मक पहलहरू र प्रगतिशील नीतिहरूको बारेमा विस्तृत जानकारी साझा गरे। उनले राज्यको शान्त पारिस्थितिकीमाथि प्रकाश पार्दै चीन, नेपाल र भुटानसँग अन्तरराष्ट्रिय सीमा साझा गर्ने सीमावर्ती राज्यको रूपमा यसको रणनीतिक महत्त्वबारे अवगत गराए।

मुख्यमन्त्रीले दिगो विकासमा जोड दिँदै सिक्किममा चलिरहेको जैविक खेती अभ्यास र राज्यको अर्थतन्त्रमा यसको प्रभावको बारे जानकारी गराए। उनले पर्यावरणीय संरक्षणका उपायहरू र व्यापक वन क्षेत्रको महत्त्वमा जोए दिए, जसले सिक्किमलाई राष्ट्रको एक हरित राज्यको रूपमा पहिचानलाई बलियो बनाएको छ।

मुख्यमन्त्रीले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र पर्यटन लगायतका क्षेत्रहरूमा कार्यान्वयन गरिएका प्रमुख कल्याणकारी उपायहरू र पूर्वाधार विकास परियोजनाहरूको बारेमा विस्तृत रूपमा वर्णन गरे। उनले राज्य पहलहरूसँग मिलेर केन्द्रिय प्रायोजित योजनाहरू र भारत सरकारका प्रमुख कार्यक्रमहरूको सफल कार्यान्वयनबारे पनि बताए।

भ्रमणमा रहेका पत्रकारहरू रचनात्मक आदान-प्रदानमा संलग्न बन्दै नीति कार्यान्वयन, अनुगमन संयन्त्र र विभिन्न योजनाहरूको तृणमूल तहसम्म पहुँचको बारेमा प्रश्नहरू गरेका थिए। मुख्यमन्त्रीले पनि पत्रकारहरूका प्रश्नहरूलाई उदाहरण प्रस्तुत गर्दै सम्बोधित गरेका थिए।

यस अन्तरक्रियाले अन्तरराज्यीय मिडिया सहकार्यलाई सुदृढ़ पार्ने र विकासात्मक मोडेलहरूमा सूचित रिपोर्टिङलाई प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको सीएमओले प्रेस बयानमा बताएको छ। पारस्परिक सम्मान र सद्भावनाको प्रतीकको रूपमा छत्तीसगढ़ प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई स्मृति चिन्ह प्रदान गर्‍यो।

यसैगरी पत्रकारहरूलाई पनि सम्मान र आतिथ्यको प्रतीकको रूपमा स्मृति चिन्ह र परम्परागत खादाहरू अर्पण गरियो। यस अवसरमा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सूचना तथा जनसम्पर्क विभागका अतिरिक्त निर्देशक विशाल खवास र गान्तोकका डीआईओ दिपेन्द्र शर्मा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande