अनित थापाले घुम्ती चियाबारीमा भूतपूर्व सैनिक भवन र सार्वजनिक भवनको शिलान्यास गरे
अनित थापा


खरसाङ, 20 फरवरी (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चियाबारीमा भूतपूर्व सैनिक भवन र घुम्ती कमानको लागि सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्।

उक्त भूतपूर्व सैनिक भवन र स्थानीय सार्वजनिक भवनको शिलान्यासका लागि घुम्ती चियाबारी पुगेका जीटीए प्रमुख थापालाई स्थानीय मानिसहरु र महानदी शाखा एक्स सर्भिसमेन एवं विडो वेलफेयर एसोसिएशनका पदाधिकारीहरुले स्वागत जनाए। क्षेत्रीय सभासद नवराज छेत्री र जीटीए प्रमुखको बाहुलीद्वारा विधिवत पूजा अर्चनापछि भूतपूर्व सैनिक भवनको शिलान्यास गरियो।

उल्लेखनीय छ, घुम्ती कमानमा जीटीए अधीनस्थ सिँचाई विभाग खरसाङको तर्फबाट भूतपूर्व सैनिक भवन 24 लाख 88 हजार रुपियाँमा निर्माण गरिने भएको छ। यसरी नै घुम्ती कमानमा सार्वजनिक भवन 32 लाख 57 हजार रुपियाँमा निर्माण गरिने भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande