अम्बटेको कुमालटारमा आईजीजेएफको‌ बुथ कमिटी गठित
अम्बटेको कुमालटारमा आईजीजेएफको‌ बुथ कमिटी गठन


खरसाङ, 20 फरवरी (हि.स.)। खरसाङ महकुमा अन्तर्गत अम्बटेको कुमालटारमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को बुथ कमिटी गठन गरिएको छ। पार्टीको केन्द्रिय समिति सदस्य तथा प्रवक्ता आरके शर्मा लगायत चिम्नी–देवराली ग्राम पञ्चायतका प्रधान एवं केन्द्रिय समिति सदस्य बिमल तामाङको उपस्थितिमा कमिटी गठन गरियो।

यस अवसरमा लगभग 40 परिवार औपचारिक रूपमा आईजीजेएफमा सामेल भएको दाबी गरिएको छ। उनीहरूलाई पार्टी नेतृत्वहरूले खादा लगाइदिएर स्वागत जनाए।

प्रवक्ता आरके शर्माले आफ्नो सम्बोधनमा अम्बटे क्षेत्रमा संगठनलाई अझ सक्रिय, जनमुखी र अनुशासित रूपमा अघि बढाउने बताउँदै युवाशक्ति र आम जनताको सक्रिय सहभागिताले मात्र सशक्त परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। उनले खरसाङ क्षेत्रसहित सम्पूर्ण पहाडमा पार्टीको संगठनलाई बलियो बनाउँदै जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, बिमल तामाङले ग्रामस्तरबाटै सशक्त संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कुमालटार बुथ गठनले क्षेत्रीय राजनीतिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कुमालटार बुथ गठनसँगै आईजीजेएफले अम्बटे क्षेत्रमा आफ्नो संगठनात्मक आधार थप सुदृढ बनाएको दावी गरिएको छ। कुमालटार बुथ कमिटी गठन प्रक्रियामा प्रकाश छेत्री र मणिकुमार प्रधानको मुख्य भूमिका रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande