खरसाङ बजारमा अवैध निर्माण विरुद्ध नगरपालिकाले कारबाही नगरे हामी कारबाही गर्ने छौं: आरके शर्मा
आरके शर्मा


खरसाङ, 20 फरवरी (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा भवन निर्माण भइरहेको भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को केन्द्रिय सदस्य एवं खरसाङका सचिव आरके शर्माले नगरपालिकालाई कडा चेताउनी दिएका छन्। उनले अवैध निर्माणहरू झट्ट भत्काउने कार्य नगरे आफुहरु कारबाहीमा उत्रने बताएका छन्।

शुक्रवार आईजीजेएफको तर्फबाट आरके शर्मा र बिमल तामाङले खरसाङ नगरपालिकामा अवैध रूपमा भवन निर्माण भइरहेको आरोप लगाउँदै कथित अवैध भवन निर्माण स्थलमा विरोध प्रदर्शन गरे। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै आरके शर्माले भने, यो भवन विषयमा नगरपालिकालाई कानुनी नोटिस पठाए पनि कुनै उत्तर आएको छैन। यहाँ पहिला मैला फ्याँक्ने ठाउँ थियो, तर अहिले यहॉं बिल्डिङ निर्माण भइरहेको छ।'

शर्माले यो भवन बाटो र नाली सबै क्याप्चर गरेर अवैध रुपमा निर्माण भइरहेको आरोप लगाए। उनले यहॉं निर्माण गर्ने नगरपालिकाले कसरी अनुमति दियो भनी प्रश्न गर्दै नगरपालिकाको देखरेखमा‌ नै अवैध रूपमा भवन निर्माण भइरहेको आरोप लगाए। उनले यदि नगरपालिकाको तर्फबाट नक्सा स्वीकृत नभई निर्माण गरिएको हो भने नगरपालिका ऐनको 217 सेक्शन हनन भएको उनले बताए।

उनले नगरपालिका ऐनको सेक्शन 220 अन्तर्गत यस अवैध भवनलाई झट्ट भत्काउनु पर्ने माग गरे। यदि नगरपालिकाले भवन भत्काएन भने आईजीजेएफ स्वयं अघि आएर कारबाही गर्ने चेताउनी दिए। उनले पार्क लोकेशनस्थित सुपर मार्केटमा टिनले बारेको ठाउँ विषयमा पनि प्रश्न उठाएका छन्।

उनले सुपर मार्केटभित्र बनाइएका दोकानहरु विषयमा पनि प्रश्न उठाउॅंदै भने, नगरपालिकाले 2024 मा बजारमा अवैध निर्माणहरु सबै भत्कायो। 1 देखि 20 नम्बर वार्डसम्मका सबै अवैध निर्माणहरू भत्काउने बताएको भए पनि केवल बजार क्षेत्रमा मात्र भत्काउने कार्य गरियो। उनले अन्य ठाउॅंहरूमा किन अवैध निर्माण भत्काउने कार्य गरिॅंदैन भनी प्रश्न गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande