जिल्ला प्रशासनले रातभरि आगलागीको अवस्थाको निगरानी गऱ्यो
जिल्ला प्रशासनले रातभरि आगलागीको अवस्थाको निगरानी गऱ्यो


जिल्ला प्रशासनले रातभरि आगलागीको अवस्थाको निगरानी गऱ्यो


मङ्गन, 20 फरवरी (हि.स.)। उत्तर सिक्किम अन्तर्गत मङ्गन जिल्लाका माङशिला, झुसिङ र नामोक क्षेत्रहरूमा लागेको आगोको अवस्थामाथि निरन्तर निगरानी राख्ने कार्य भइरहेको छ। यस क्रममा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैनको नेतृत्वमा जिल्ला प्रशासन, भारतीय सेना र स्थानीय प्रतिनिधिहरूले बिहिवार रातभरि आगलागीको अवस्थामाथि निरन्तर निगरानी राख्यो।

मङ्गन जिल्लाको माङशिला-तिबुक ग्राम पञ्चायत एकाई अन्तर्गत लोवर झुसिङ क्षेत्रमा गत 19 फरवरीका दिन ठूलो आगलागी भएको थियो। माङशिला, झुसिङ र नामोक क्षेत्रहरूमा आगो लागेको थियो। जिल्ला प्रशासनले तत्काल कारबाही गर्दै आपतकालीन सेवाहरू, पुलिस, वन विभाग र स्थानीय स्वयंसेवकहरूको निरन्तर प्रयासमा आगो नियन्त्रित गऱ्यो। जिल्ला प्रशासनको सक्रियतामा थप क्षति हुनबाट जोगाउॅंदै स्थानीय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गरिएको शुक्रवार जिल्ला प्रशासनले बताएको छ।

बिहिवार राति जिल्लापाल अनन्त जैनको अगुवाईमा जिल्ला प्रशासनका अधिकारीहरू र कर्मचारीहरू, भारतीय सेनाका जवानहरू र स्थानीय मानिसहरूको उपस्थितिमा आगलागीको स्थितिमाथि निगरानी राख्ने कार्य गरियो। भारतीय सेनाको सहयोगमा स्थितिमाथि निगरानी राख्न ड्रोन क्यामेरा प्रयोग गरिएको थियो। यसरी नै कुनै पनि आपतकालीन अवस्थाबाट बाच्न र आपदा प्रबन्धनको तयारी बढाउन आवश्यक योजनाहरू बनाइएको जिल्ला प्रशासनले बताएको छ।

क्षेत्र विधायक तथा मन्त्री पिन्चो नामग्याल लेप्चाले हिजो प्रभावित क्षेत्रहरूको निरीक्षण गरेर स्थितिको जायजा लिएका थिए। जिल्ला प्रशासनले परिस्थितिको निरन्तर निगरानी गरिरहेको र कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न सबै स्रोतसाधनको परिचालन सुनिश्चित गरेको बताएको छ।

आगलागीको वास्तविक कारण स्पष्ट नभए तापनि अत्यधिक सुक्खा, वर्षाको अभाव र बढ्दो गर्मीका कारण आगो द्रुत गतिमा फैलिएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande