
खरसाङ, 20 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कर्मी सभामा राष्ट्रपति पदकले सम्मानित महानदी निवासी एवं झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् जयदेव प्रधान र डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण सिलिम हिल निवासी सौरभ सुब्बालाई सम्मान जनाइयो।
घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा आज आयोजित कार्यक्रममा उनीहरूलाई तीनधारे महानदी समष्टिको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित जीटीए प्रमुख अनित थापाको बाहुलीद्वारा द्वयलाई खदार्पणसहित टोपी पहिराएर, शल ओढाएर र सम्वर्द्धना पत्र अर्पण गरियो।
उल्लेखनीय छ, महानदी निवासी जयदेव प्रधान झारखण्ड सशस्त्र पुलिसमा विगत 22 वर्षदेखि कार्यरत् छन्। उनी गत 26 जनवरीमा राष्ट्रपति पदकबाट सम्मानित भएका थिए। यसैगरी, सिलिम हिल निवासी सौरभ सुब्बाले यसै वर्ष पश्चिम बंगाल सिभिल सर्विस डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक