यसपाली पनि मलाई झुक्याउनु भयो भने तपाईहरू आफै झुक्किनु हुनेछ: अनित थापा
Anit thapa


खरसाङ, 21 फरवरी (हि.स.)। ग्रामीण पूर्वाधारमा महत्वपूर्ण प्रगतिका लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज खरसाङ सिँचाई विभाग र पश्चिम बंगाल राज्य ग्रामीण विकास एजेन्सी (डब्ल्यूबीएसआरडीए) अन्तर्गत चार प्रमुख विकास परियोजनाहरूको शिलान्यास गरे।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, यी विकासका गतिविधिहरू ठूला विकासका लागि स्टेपिङ स्टोनहरू हुन्। तर निर्माण कार्य गुणवत्ता हुनुपर्छ। फण्ड ल्याउने पनि म, काम पारित गराउने म अनि काम नराम्रो हुँदा गाली चाहिँ मैले खानु? पञ्चायत प्रधानको काम कार्यालयमा मात्र बस्ने होइन, यी सबै काम हेर्नु पनि हो।

चुनावी अपील गर्दै थापाले भने, बाटो चाहिँदा अनित थापा, पानी चाहिए अनित थापा, पूजामा अनित थापा, बिमारी भए अनित थापा, विकासको निम्ति पैसा ल्याउने अनित थापा, तर चुनाउमा अनित थापालाई झुक्याउनु? पानी आउने स्रोतमा नै ताला लगाउनु भयो भने पानी कसरी आउँछ? भड्केको झोंकमा भोट हाल्दा ठाउँको उन्नति हुन्छ? यसपाली पनि मलाई झुक्याउनु भयो भने तपाईहरू आफै झुक्किनु हुनेछ।

आज शिलान्यास गरिएका परियोजनाहरू खरसाङ खण्ड अन्तर्गत सिरिसे, पान्डु र अम्बोटियामा अवस्थित छन्। सिरिसेमा स्वनिर्भर दलहरुका लागि सामुदायिक हल निर्माण हुने भएको छ, जसको लागत ५३ लाख ५८ हजार रुपियाँ रहेको छ। त्यसरी नै कुमाल्टारमा सामुदायिक हल निर्माण हुनेछ, जसको लागत खर्च ६१ लाख ३९ हजार रुपियाँ रहेको छ।

यसैगरी, पोस्ट अफिसदेखि अम्बटेको शिव मन्दिरसम्म सडक निर्माण गरिने भएको छ, जसको लागत खर्च २ करोड़ ३७ लाख ५० हजार रहेको छ। यसरी नै अपर सिरिसेमा भान्सा घर र शौचालयसहितको सामुदायिक भवन निर्माण गरिने भएको छ, जसको लागत खर्च ३२ लाख २६ हजार रुपियाँ रहेको छ।

यी कार्यक्रमहरूमा खरसाङ सिँचाई विभागका कार्यकारी अभियन्ता चन्दन प्रधान, दार्जिलिङका कार्यकारी अभियन्ता पूर्णिमा छेत्री र पङ्खाबारी अम्बटे लङ्गभ्यू समष्टिकी सभासद एवं जीटीएकी महिला तथा बाल कल्याण विभागको कार्यकारी सभासद कल्पना प्रधान थिए उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande