
खरसाङ, 21 फरवरी (हि.स.)। नेपाली संगीतका एक वरिष्ठ गायक तथा बहुप्रतिभाशाली कलाकार फौदा सिंहको उपचारका लागि गौरव मञ्च तीनधारेको आयोजनामा शनिवार तीनधारेको महात्मा गान्धी हलमा संगीतमय साँझ 'सहयोग साँझ' आयोजना गरियो। उक्त कार्यक्रममा गौरव मञ्च तीनधारेको पहलमा नेपाल, कालेबुङ, सिलगढी, डुवर्स, दार्जिलिङ, खरसाङ, बिजनबारी, तीनधारे क्षेत्रका गायक कलाकारहरुले आफ्नो प्रस्तुति दिए।
यस सहयोग साँझमार्फत् संकलन भएको रकम वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि सहयोग गरिने भएको छ। यस सहयोग साँझमा थुप्देन भोटिया, कर्म ग्याल्छेन, पुष्पन प्रधान, स्नेहश्री थापा, डम्बर नेपाली, अरबिन्द रावत, साईराज खाती, स्माइल दास, आनन्द विश्वकर्म, सचिन विश्वकर्म, मोहित भुजेल, जुनु गौतम, बाल गायक आयुष लामा आदिले आफ्नो प्रस्तुति दिए। कार्यक्रमलाई नेपालबाट आएका राजेस घतानी र तीनधारेका युवराज सुन्दासले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि पल्लवीवले पनि आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रमको शुरुमा गायक प्रशान्त तामाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरियो। यस अवसरमा गायक प्रशान्त तामाङकी पत्नी र सक्षम फाउण्डेशनद्वारा पठाइएको सहयोग गौरव मञ्च तीनधारेका अध्यक्ष महेश सेवालाई हस्तान्तरण गरियो।
यस सहयोग साँझ कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गौरव मञ्च तीनधारेका सचिव सुप्रेम छेत्रीले वरिष्ठ गायक फौदा सिंहको उपचारको लागि कार्यक्रममा उपस्थित भएर नि:शुल्क प्रस्तुति दिने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिए। उनले कार्यक्रममा सांगीतिक प्रस्तुति दिने म्युजिक तीनधारेका कलाकारहरु, दाताहरु, सहयोगकर्ताहरु, दर्शकहरुलाई पनि धन्यवाद दिएका छन्। उनले यो सहयोग संकलन गरेर आगामी सोमवार फौदा सिंहको घरमा प्रदान गरिने बताए।
हिन्दुस्थान समाचार / हनोक