
मेदिनीपुर, 20 फ़रवरी (हि.स.)। विधानसभा चुनाउ नजिकिँदै गइरहेको समय नन्दीग्राममा भारतीय जनता पार्टी (भाजपा)-लाई ठूलो झट्का लागेको छ। गए शुक्रवार सांझ राज्यका विपक्षी नेता शुभेन्दु अधिाकरीको गढ़बाट भाजपाका एकजना पञ्चायत सदस्य अनि बूथ अध्यक्षले पार्टी छोड़ेर तृणमूलमा सामेल भए।
पूर्वी मिदनापुर जिल्लाको नन्दीग्रामस्थित कालिचरणपुर पञ्चायतकी २४५ नम्बर बूथबाट भाजपा सदस्य तनुश्री दास र उनका अनुयायीहरू तृणमूलमा सामेल भए। उनीसित उनका पति र सोही बूथका भाजपा अध्यक्ष कालिपद दास पनि तृणमूलमा सामेल भए। यस अवसरमा पूर्व मिदनापुर जिल्ला परिषदकी उपाध्यक्ष सुहासिनी क़रले उनीहरूलाई स्वागत गरिन्।
तनुश्री दासको भनाइ छ, उनको क्षेत्रमा विकासको कुनै काम भएको छैन र पञ्चायत प्रमुखसित सहयोग माग्दा उनलाई अपमानित गरियो। त्यसपछि उनले पत्रको माध्यमबाट पार्टी नेतृत्वसित सहयोग मागिन्, तर कुनै समाधान भएन। विकासको इच्छाले गर्दा गए शुक्रवार साँझ उनले स्वेच्छाले भाजपा त्यागेर तृणमूलमा सामेल हुने निर्णय लिइन्।
तृणमूल कंग्रेसका नेता बप्पादित्य गर्गको दाबी छ, आगामी चुनाउमा उनीहरूले शुभेन्दु अधिकारीको आधार क्षेत्रबाट भाजपालाई च्युत पार्नेछन्। उनको भनाइ छ, तनुश्रीले भाजपालाई यसकारणले छाड़ेकी हुन्, किनभने शुभेन्दु अधिकारीको साम्प्रदायिक नीतिलाई स्वीकार गर्नै सकिनन्।
बितेको शुक्रवार अबेर साँझ भाजपा कार्यालयमा फोन गरेर भाजपाको नन्दीग्राम क्षेत्रका नेता बटकृष्ण दासले बताए, तनुश्री तृणमूलमा जाँदा पार्टीलाई कुनै किसिमको नोक्सान हुनेवाला छैन। उनले आरोप लगाए, तनुश्री पछिल्लो लामो समयदेखिकै तृणमूलसित गुप्त सम्पर्कमा थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा