
गान्तोक, 22 फरवरी (हि.स.) ।सिक्किम विश्वविद्यालयले एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयू) द्वारा आयोजित ३९औँ अन्तर विश्वविद्यालय उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सव २०२५-२६ (युनिफेस्ट) मा सहभागिता जनाएको छ। उक्त महोत्सव १६ देखि २० फरवरी, २०२६ सम्म असम डन बस्को विश्वविद्यालयद्वारा आयोजना गरिएको जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।
महोत्सवमा व्यापक सहभागिताका लागि सिक्किम विश्वविद्यालय विद्यार्थी संघ (सुसा) पहलले गरेको थियो, जसले विभिन्न प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता प्रोत्साहित र समन्वय गरेको थियो। विश्वविद्यालय प्रशासनको सहयोगमा समर्पित तथा प्रतिभाशाली टोलीले संस्थाको प्रतिनिधित्व गरेको बताइएको छ।
महोत्सवका क्रममा विश्वविद्यालयले शास्त्रीय वाद्य एकल (नन-पर्कसन), वक्तृत्वकला, कार्टुनिङ, पोस्टर निर्माण, कोलाज, माटो मूर्तिकला, स्थानमै चित्रकला, तर्क प्रतियोगिता, कुइज, समूह गीत, लोक/जनजातीय नृत्य तथा फुटबल लगायतका विविध प्रतियोगितामा सहभागिता जनाएको थियो। सम्पूर्ण कार्यक्रममा विद्यार्थीहरूले आत्मविश्वास, सिर्जनशीलता र टोली भावना प्रदर्शन गरेका थिए।
सिक्किम विश्वविद्यालयले महोत्सवमा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ। शास्त्रीय वाद्य एकल (नन-पर्कसन) तर्फ विश्वविद्यालयले पाँचौँ स्थान हासिल गर्दै उत्कृष्ट सांगीतिक क्षमता र मेहनती तयारी प्रदर्शन गरेको छ। यसैगरी लोक/जनजातीय नृत्य तर्फ टोलीले पाँचौँ स्थान प्राप्त गर्दै सिक्किम तथा उत्तर-पूर्व क्षेत्रको समृद्ध सांस्कृतिक परम्परा र जीवन्त सम्पदा सुन्दर ढंगले प्रस्तुत गरेको थियो।
वक्तृत्वकला र तर्क प्रतियोगिता जस्ता साहित्यिक विधामा पनि सहभागीहरूले स्पष्ट सोच र सशक्त सञ्चार क्षमताको प्रभावशाली प्रदर्शन गरे। यसरी नै पोस्टर निर्माण, कोलाज, कार्टुनिङ, माटो मूर्तिकला तथा स्थानमै चित्रकला जस्ता ललितकला प्रतियोगितामा विद्यार्थीहरूले सिर्जनशीलता र मौलिकता प्रस्तुत गरेका थिए। फुटबल टोलीले मैदानमा उत्कृष्ट समन्वय, अनुशासन र खेल भावना देखाए।
विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूको इमानदार प्रयास र उपलब्धिप्रति बधाई ज्ञापन गरेको छ। साथै सहभागितालाई सफलतापूर्वक नेतृत्व तथा व्यवस्थापन गर्ने कार्यमा सुसाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल