भाजपाले पहाडलाई झुक्याएको 20 वर्ष भयो, अब भाजपालाई झुक्याउनु पर्छ: अनित थापा
अनित थापा


खरसाङ, 23 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) टुंग सन्तमेरिज समष्टिको कर्मी सभा आज मार्गरेट्स होपमा सम्पन्न भयो। यस कर्मी सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, उपाध्यक्ष प्रमोस्कर ब्लोन, खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रममा टुंग सन्त मेरिज समष्टि अन्तर्गत सिङ्गेल चियाबारीको सात नम्बर गाउँ क्षेत्रबाट लगभग 30 परिवार भागोप्रमोमा सामेल भएको बताइएको छ। सामेल हुनेहरुलाई पार्टी महासचिव अमर लामा लगायत अन्य नेतृत्वहरूले खदार्पण गरेर स्वागत जनाइयो।

कर्मी सभालाई सम्बोधन गर्दै केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले भने, 'पहाडले भाजपालाई भोट दिएर जिताएको 20 वर्ष भयो। तर, भाजपाले पहाडलाई झुक्याएको पनि 20 वर्ष भयो। जसरी भाजपाले 20 वर्षसम्म झुक्यायो, अब त्यसरी नै पहाडले भाजपालाई पनि झुक्याउनु पर्छ। टुंग सन्त मेरिज समष्टिले पनि झुक्याउनु पर्छ। नत्र हामी सदैव झुक्केको झुक्केकै भएर गन गन गर्दै बस्नु पर्नेछ।'

अनित थापाले अघि भने, 'पहाडका तीनजना विधायकहरुले सरकार बनाउन सक्दैनन् र सरकार ढाल्न पनि सक्दैनन्, तर सरकारसित मिलेर काम गर्न सक्छन्। जनताको लागि विकास गर्न विधानसभामा जनताको आवाज उठाउन सक्छप्। त्यसैले पहाडको लागि हाम्रा तीन जना विधायकहरुलाई भोट हाल्नु पर्छ।'

उनले भने, 'सांसदको भोटमा गोपाल लामालाई आफ्नै गाउँले पनि झुक्याए। गोपाल लामा जस्तो इमान्दार, शिक्षित, अनुभवी व्यक्तिलाई झुक्याए र हराए। तर, जसले भोट पाएर जितेर गए, उसले धन्यवादसम्म भन्न आएनन्। भाजपाले भोट पनि माग्दैन, धन्यवाद भन्नु पनि आउँदैन, तर पनि जित्छ। यसपाली तेस्तो हुनुहुँदैन।'

उनले भने, '86 सालदेखि नै बंगाल हाम्रो चिहान भन्ने चलन छ। तर, त्यो मानसिकता परिवर्तन गर्न आवश्यक छ। टुंग सन्तमेरिज समष्टि दार्जिलिङ जिल्लाम पर्छ अनि दार्जिलिङ बंगालभित्र पर्छ। हामी बंगालमा बस्छौँ, त्यस कारण म सरकारसित मिलेर काम गरेको हो। बंगालमा बसेपछि बंगालसित मिल्नुपर्छ। बंगालमा बसेर दिल्लीसित मिलेर हुँदैन। बिहार र असमसॅंग मिलेर हुँदैन।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande