
खरसाङ, 23 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पहलमा आज वार्ड नम्बर दुईको डाउहिल सुनौलो परिवार समिति भवनमा सम्पन्न एक सभामा आगामी विधानसभा चुनाउको निम्ति बुथ कमिटी, साथै अमृत 2.0 जल परियोजनाको सम्पूर्ण निरीक्षण अनि देखरेख गर्न एक कमिटी गठन गरियो। वार्डका वरिष्ठ सदस्य निमा लामाको अध्यक्षतामा सम्पन्न सभामा जीटीएका मुख्य कार्यपाल अनित थापाकाे निर्देशनमा वार्ड नम्बर एकदेखि बीससम्म अमृत 2.0 को कार्य देखरेख गर्नका लागि प्रत्येक वार्डमा जल निरीक्षण कमिटी बनाउने कार्य गरिएको बताइएको छ।
सभामा वार्ड कमिटीका अध्यक्ष शान्ता कुमार प्रधानको निधनपछि रिक्त भएको स्थानमा डाउहिल निवासी निमा लामालाई वार्डको अध्यक्षको पदभार सुम्पियो। यसरी नै आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै बुथ कमिटी गठन गरियो र वार्ड नम्बर दुईको निम्ति संयोजक रंजन गजमेर, किशोर सिंह, कोषाध्यक्ष सुजय गुरूङ अनि गंगा थापालाई चयन गरियो। सभाको दोस्रो चरणमा वार्ड नम्बर दुईबाट छनौट गरेर 14 जनाको देखरेख कमिटी गठन गरियो, जसले अमृत 2.0 लाई सुचारु रूपमा अघि बढाउन कार्य गर्नेछन्।
यस अतिरिक्त, वार्ड नम्बर 5 को ग्राम सेवा समिति भवनमा अमृत 2.0 जल परियोजनाको सम्पूर्ण निरीक्षण अनि देखरेख गर्न हेतु कमिटी गठनका लागि सभा सम्पन्न भयो। वार्ड कमिटीका सभापति लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, खरसाङ महकुमा समिति नारी शक्तिकी अध्यक्ष सबिता कार्की, 28 नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ महकुमा अध्यक्ष सुभाष प्रधानले सम्बोधन गरेका थिए।
सभामा अमृत 2.0 परियोजनाको देखरेख कमिटी गठन गरियो भने दोस्रो चरणमा आगामी विधानसभा चुनाउको निम्ती बुथ कमिटी गठन गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक