सिक्किमका पत्रकार जगन दाहाल मीडिया एक्सेलेन्स अवार्ड 2026 ले सम्मानित
सिक्किमका पत्रकार जगन दाहाल मीडिया एक्सेलेन्स अवार्ड 2026 ले सम्मानित


नयाँ दिल्ली, 22 फरवरी (हि.स.)। सिक्किमका पत्रकार जगन दाहाललाई नयाँ दिल्लीस्थित मिडिया फेडरेशन अफ इण्डियाद्वारा आयोजित 20औँ मीडिया एक्सेलेन्स अवार्ड 2026 मा बेस्ट जर्नलिस्ट अफ सिक्किमले सम्मानित गरिएको छ। यो सम्मान भारतीय जन सञ्चार संस्थान (आईआईएमसी) का पूर्व महानिर्देशक प्रो. सञ्जय द्विवेदी, वरिष्ठ पत्रकार प्रतीक त्रिवेदी, राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) का उप महानिर्देशक डा. एलपी शर्माको बाहुलीबाट प्रदान गरिएको हो।

सम्मान कार्यक्रम “एक भारत श्रेष्ठ भारत” को राष्ट्रिय दृष्टिकोण अन्तर्गत नयाँ दिल्लीको आईटीओस्थित पीएलबी अडिटोरियममा सम्पन्न भएको थियो। मीडिया फेडरेशन अफ इण्डियाद्वारा प्रदान गरिएको उक्त सम्मानले दाहालको समर्पण, प्रतिबद्धता तथा राजनीतिक र सामाजिक क्षेत्रमा उनले गरेको प्रभावकारी पत्रकारिताको कदर गरेको छ।

समारोहमा संस्थाका राष्ट्रिय अध्यक्ष अरुण शर्मा, महासचिव धर्मवीर आनन्द तथा वरिष्ठ उपाध्यक्ष आशिष के. सिंह, प्रेस क्लब अफ सिक्किमका महासचिव डीआर दुलाललगायत 24 भन्दा अधिक राज्यका पत्रकारहरूको उपस्थिति रहेको थियो।

पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत आरिगाउँ निवासी दाहाल हाल दैनिक जागरण राष्ट्रिय हिन्दी दैनिक पत्रिकामा सिक्किम राज्यका वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन्। पत्रकारिता क्षेत्रमा 14 वर्षभन्दा लामो अनुभव भएका उनले राजनीतिक घटनाक्रम र सामाजिक सरोकारका विषयमा तृणमूलस्तर देखिनै तथ्यपरक रिपोर्टिङ गर्दै आएका छन्।

सन् 2023 को अक्टोबरमा उत्तर सिक्किममा आएको विनाशकारी विपद्‌को सम्भावित जोखिमबारे पूर्व रिपोर्टिङ तथा विपद्पछिको अवस्थाबारे गरिएको प्रभावकारी समाचार सम्प्रेषण उनको उल्लेखनीय योगदानमध्ये पर्दछ। साथै, उनले लोकसभा तथा विधानसभा निर्वाचनहरूमा समेत व्यापक ग्राउण्ड रिपोर्टिङ गरेका छन्।

पत्रकार दाहाल प्रेस क्लब अफ सिक्किमका कार्यकारिणी समितिका सदस्य पनि हुन्। यसअघि उनलाई सन् 2018 मा सिक्किम सरकारद्वारा पोजिटिभ जर्नालिजम सम्मान प्रदान गरिएको थियो। नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा दखल राख्ने उनले हिमाली क्षेत्रका जनसरोकारका मुद्दाहरूलाई निरन्तर राष्ट्रिय स्तरमा उजागर गर्दै आएका छन्। यो राष्ट्रिय सम्मानले उनको पत्रकारिता यात्रामा नयाँ उपलब्धि थप्नुका साथै सिक्किमको सञ्चार जगतलाई गौरवान्वित बनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande