स्यालम्याण्डर इम्प्रिन्ट्सद्वारा 'ए लेगेसी अफ सरो' लोकार्पित
स्यालम्याण्डर इम्प्रिन्ट्सद्वारा 'ए लेगेसी अफ सरो' लोकार्पित


सिलगढ़ी, 23 फरवरी (हि.स.)। वरिष्ठ लेखिका तथा पत्रकार शारदा छेत्रीद्वारा लिखित उपन्यास 'ए लेगेसी अफ सरो- ए स्टोरी फ्रम दार्जीलिङ' को औपचारिक लोकार्पण २२ फरवरी, २०२६ मा किताब केफे, सिलगढ़ीमा सम्पन्न भएको छ। पुस्तक बुक-एण्ट पब्लिकेशन हाउसको एकाइ स्यालम्याण्डर इम्प्रिन्ट्सद्वारा प्रकाशित गरिएको हो।

ए लेगेसी अफ सरो दार्जीलिङ पहाड़का तीन महिलाहरूको कथा हो, जसले तीन दशकसम्म आफ्नो पीड़ा र क्षतिबोधलाई बोकेर हिँड्छन् र सन् २०१७ को जूनदेखि सेप्टेम्बरसम्म रमणीय पहाड़ शहरलाई प्रभावित बनाएको गोर्खाल्याण्ड आन्दोलनमा पुनः होम्मिन पुग्छन्। यो कथा क्षेत्रीय सीमाभन्दा धेरै टाढ़ासम्म प्रतिध्वनित हुन्छ। यसले पहिचान, स्वत्व र पुस्तान्तरित स्मृतिका प्रश्नसँग जुधिरहेका सबैलाई सम्बोधन गर्दछ। यो पुस्तक स्मृतिको कोमलता र पीड़ाको अमेट उत्तराधिकारमाथि गरिएको गहन र चिन्तनशील मनन हो। गोर्खाल्याण्ड आन्दोलनबारे धेरैले अनुभव गरेका, विचार गरेका र लेखेका भए पनि यस उपन्यासले कथालाई अझ गहिरो भावनात्मक तथा ऐतिहासिक तहमा उचालेको छ। लेखिकाको कथनशैली शान्त, प्रवाहपूर्ण र गहन अन्तर्दृष्टिले समृद्ध छ।

समारोहमा लेखिका र पत्रकार लेखिका अनुराधा शर्मामाझ रोचक सर्जक संवाद सम्पन्न भयो। आफ्नो कृतिबारे बोल्दै शारदा छेत्रीले भनिन्, “यो पुस्तकले हामीले नेपाली जातीय पहिचान र भारतीय राष्ट्रिय पहिचानबीच समन्वय खोज्दै गर्दा निरन्तर भोग्नुपर्ने मूल्याङ्कनको पीड़ालाई सम्बोधन गर्ने प्रयास गरेको छ। राज्यको खोजीभित्र दन्किरहेका, निभ्न नमान्ने खरानीभित्रको भुङ्ग्रोझैँ ‘हुने’ र ‘स्वत्व’ को सङ्घर्ष यसमा प्रतिविम्बित छ। हामी ती भुङ्ग्रोहरूलाई आफ्नै दुःखको उत्तराधिकारका रूपमा बोकेर हिँड़िरहेका छौँ।”

उनले स्पष्ट पारिन् कि कथावस्तु महिला पात्रहरूमा केन्द्रित भए पनि उपन्यासलाई केवल नारीवादी आख्यानको रूपमा सीमित गर्नु उपयुक्त हुँदैन। बरु यसले लैङ्गिक सीमाभन्दा पर गएर मानवीय क्षति, पहिचान र जुझारूपनका अनुभवहरूको अन्वेषण गर्दछ। साथै उनले भनिन् कि उपन्यासको कथनशैली मनोवैज्ञानिक अनुसन्धानबाट प्रभावित छ, जसअनुसार व्यक्तिगत वा सामूहिक आघात आगामी पुस्तामा समेत स्थानान्तरित हुन सक्छ। यस कृतिले विज्ञान, मानवशास्त्र, इतिहास र राजनीतिक शास्त्रका अवधारणासँग अन्तर्विषयगत रूपमा संवाद गर्दै स्मृति, पहिचान र उत्तराधिकारमा प्राप्त पीडाको गहिरो विश्लेषण प्रस्तुत गर्दछ।

आफ्नो स्वागत मन्तव्यमा बुक-एण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले भने, “स्यालमेण्डर इम्प्रिन्ट्सले गहिरो विषयवस्तु र गम्भीर ऐतिहासिक सन्दर्भ भएका स्थानीय हिमाली कथाहरूमा केन्द्रित रहेको छ। यस क्षेत्रमै ट्र्याडिशनल पब्लिकेशनको अभ्यासलाई पुनर्जीवित र सुदृढ़ बनाउन हामीले यो पहल आरम्भ गरेका हौँ।”

पुनियानीले जानकारी दिए कि पुस्तक बुक-एण्टको आधिकारिक ई–कमर्स वेबसाइटमार्फत् तथाअमाजन इण्डिया मा खरिदका लागि उपलब्ध छ। छिट्टै यो हाम्रो किताबघर सहित अन्य प्रमुख पुस्तक पसलहरूमा पनि उपलब्ध गराइनेछ।

पुस्तकको औपचारिक लोकार्पण पूर्ण अधिकारी, डा धनी राज छेत्री, ईबी ईश्वरण, राजा पुनियानी तथा स्वयं लेखिका शारदा छेत्रीले गरे। लेखिकालाई स्यालमेण्डर इम्प्रिन्ट्सद्वारा सम्मान पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन बुक-एण्ट-का सम्पादक, पूर्व पत्रकार, लेखक तथा अनुवादक विश्व योञ्जनले गरेका थिए। कार्यक्रममा मिलन रुचाल, डा. विधान गोले, सुब्रत दत्ता, सेबन्ती घोष, मन्दिरा घिसिङ, प्रीति ब्राह्मिण, लतिका जोशी, लेखा राई र लक्ष्मण दाहाल लगायत समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहमा प्रख्यात् लेखक डा सत्यदीप एस. छेत्रीले पनि मन्तव्य राख्दै जनआकाँक्षाको व्यापक सन्दर्भभित्र कथाहरू लेखिनुपर्ने समय आएकोमा जोड़ दिए। उनले थपे, “ए लेगेसी अफ सरो-को प्रकाशनले दार्जीलिङ पहाड़ र यस क्षेत्रभन्दा बाहिर पनि एक महत्त्वपूर्ण साहित्यिक क्षणको सङ्केत गर्दछ, जसले स्मृति, पहिचान र इतिहासलाई दुर्लभ संवेदनशीलता र गहिराइका साथ प्रस्तुत गरेको छ।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande