खस भारतीय हितकारी सम्मेलन केन्द्रिय समितिको सभा सम्पन्न
खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको सभा सम्पन्न


कालेबुङ, 23 फरवरी (हि.स.)। खस भारतीय हितकारी सम्मेलन केन्द्रिय समितिको सभा आज कालेबुङको मंगलधाममा केन्द्रिय अध्यक्ष मदनकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भयो। सभाको शुभारम्भमा गत 17 जनवरीका दिन वर्ष 2026 देखि 2029 सम्म तीन वर्षका लागि केन्द्रिय समितिमा निर्वाचित भएका पदाधिकारीहरूलाई निर्वाचन अधिकारीद्वय साहित्यकार ज्ञान सुतार र डीके छेत्रीद्वारा प्रमाणपत्र प्रदान गरियो।

नयाँ कार्यकारिणी समितिमा अध्यक्ष मदनकुमार मिश्र, महासचिव बलभद्र शर्मा फुयेल, संयुक्त सचिव कृष्ण छेत्री, कोषाध्यक्ष अनिरुद्र रावत, प्रशासनिक सचिव मेघनाथ छेत्री, प्रचार-प्रसार सचिव प्राध्यापक मेघनाथ छेत्री लगायत उपाध्यक्षहरू, सहसचिवगण, कार्यकारी सदस्यवर्ग आदि रहेका छन्। सभाले केही सदस्यहरुलाई केन्द्रिय समितिमा थप मनोनीत गरेको छ।

सभामा 18 जनवरीको दिन कालेबुङको मेलाटारमा सम्पन्न भएको खस भारतीय हितकारी सम्मेलन केन्द्रिय दशौं महाधिवेशनको व्यापक समीक्षा गऱ्यो। महाधिवेशन आयोजक समितिका सचिव टङ्क छेत्रीले महा अधिवेशनका तिता-मिठा अनुभवहरू साझा गर्दै पारदर्शी ढङ्गमा महाअधिवेशनका आयव्ययको प्रतिवेदन प्रस्तुत गरे। समीक्षा सभालाई मदनकुमार मिश्र, बलभद्र शर्मा, एसके खड्का, नितु शर्मा, रोशन ठकुरी, राजु छेत्री, रविन बास्तोला, गगन शर्मा, कृष्ण छेत्री लगायत अन्यहरूले सम्बोधन गर्दै महा अधिवेशनमा देखिएका सकारात्मक र नकारात्मक पक्षहरूलाई औल्याए।

सभामा सम्मेलनका भावी विभिन्न कार्य योजनाहरूबारे अध्यक्ष मदनकुमार मिश्रा र महासचिव बलभद्र शर्मा फुँयेलले जानकारी दिदैँ विभिन्न आञ्चलिक समितिहरुलाई कार्यभारहरु सुम्पिए, जसमा खस प्रतिभाहरूलाई सम्मान (मङ्गपु), उभौली पूजा (मिरिक), गोठधुप पूजा (बिजनबारी), युवा सम्मेलन (दार्जिलिङ), संसारी माई पूजा (तकदाह), उधौली पूजा (च्याँगा-पानीघट्टा), मष्ट पूजा (कालेबुङ) लगायत विभिन्न स्थानहरूमा विद्यार्थीहरूलाई करियर काउन्सिलिङ गराउने योजनाहरु मुख्य रहेको छ।

सांसद कोषबाट बाघडुग्राको गोसाईँपुरमा निर्माण भएको खस भवनको माथिल्लो तल्ला निर्माणहेतु रहल रकम आधारको डीपीआर सम्बन्धित निकायमा बुझाइसकेको साथै खस भवनको देखरेख र सुचारु व्यवस्थापनको लागि च्याँगा पानीघट्टा आञ्चलिक समितिलाई जिम्मेवारी दिइएको कुरो महासचिवले सभामा जानकारी दिए।

अध्यक्ष मदनकुमार मिश्रले सम्पूर्ण पदाधिकारीहरूलाई आफ्ना जिम्मेवारी आधारमा अति नै निष्ठापूर्वक कार्य गरेर संगठनलाई मजबुत बनाउने निवेदन गरे। उनले केही दिनअघि केन्द्र सरकारद्वारा पठाइएका इन्टरलोक्युटरसँग जनजाति महासंघको साथमा भेटघाटका समयमा गरिएका मुख्य कुराहरू अवगत गराए। उनले जनजातिको मान्यता सम्बन्धमा नै उनीसँग वार्तालाप भएको कुरो बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande